काठमाडौं । ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिताका लागि खेलाडी छनोटको आधार बनाइएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज चार खेल हुदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेश पहिलो खेल खेल्नेछ भने दोस्रो खेलमा प्रदेश–२ ले लुम्बिनी प्रदेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
कर्णाली प्रदेशको यो तेस्रो खेल हो । कर्णालले यसअघि प्रदेश–१ लाई ३१ रनले हराएको थियो । दोस्रो खेल खेल्न लागेको सुदूरपश्चिम पहिलो खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । समूह ‘ए’ नेपाल पुलिस दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान दुई अंक जोडेका त्रिभुवन आर्मी र कर्णाली रनरेटका आधरमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकबिहीन सुदूरपश्चिम चौथो र प्रदेश–१ पाँचौं स्थानमा छन् ।
मुलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मीले प्रदेश–१ सँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल पुलिससँग ४ विकेटले हारेको थियो ।
दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले गण्डकी प्रदेशविरुद्ध खेल्नेछ । एपीएफको यो तेस्रो खेल हो । एपीएफले यसअघि दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । एपीएफले यसअघि प्रदेश–२ लाई २४ तथा वाग्मती प्रदेशलाई ७ विकेटले हराएको थियो ।
समूह ‘बी’ मा समान दुई अंक जोडेका वाग्मती र प्रदेश–२ रनरेटका आधरमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समान एक खेलेका गण्डकी र लुम्बिनी अंकबिहीन छन् ।
प्रदेश–२ यसअघि एपीएफसँग २४ रनले हारेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । लुम्बिनी वाग्मतीसँग ४९ रनले पराजित भएको थियो ।
प्रतियोगितामा सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । दश दिनमा सकिने प्रतियोगितामा आठ खेले हुनेछन् । त्यसमध्ये समूह चरणमा चार दिन प्रत्येक दिन चार खेल खेलाइएको छ ।