काठमाडौं । फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९ औं स्थानमा थियो ।
नेपालले १५ माघ र १८ माघमा गरी अफ्रिकन राष्ट्र मरिसस विरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो र दुवैमा विजयी भएको थियो ।
दक्षिण एसियाली देशमा तुलना गर्दा नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा अगाडि रहेका भारत एक स्थान सुधार गर्दै १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा छ ।
नेपालभन्दा पछि रहेका भुटान १८५ औं, बंगलादेश १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०४ औं स्थानमा छ ।
विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्राे स्थानमा कायमै छ । अर्जेन्टिना एक स्थान सुधार गर्दै चाैथाे स्थानमा उक्लँदा इंगल्याण्ड पाँचाै स्थानमा झरेकाे छ । ईटली छैटाैं, स्पेन साताैं, पाेर्चुगल आठाैं, डेनमार्क नवाैं र नेदरल्याण्ड्स दशाैं स्थानमा छ ।