काठमाडौं । ओपनर कुशल भुर्तेलले शतक बनाउनुका साथै दीपेन्द्रसिंह ऐरीसँग १७१ रनको साझेदारी गरेपछि नेपालले शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सलाई १३६ रनले हराएको छ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीमा फिलिपिन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनायो । २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।
नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो । जितसँगै ४ अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा छ । समान २ अंक जोडेका क्याडना र ओमान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लगातार दोस्रो खेलमा पराजित फिलिपिन्स पुछारमा छ । आज क्यानडाले ओमानलाई हराएको भए नेपालले सेमिफाइनलमा स्थान पक्का गर्ने थियो । तर, ओमानले आज क्यानडालाई ९ विकेटले हराएपछि नेपालले अन्तिम खेलसम्म कुर्नु परेको हो । नेपालले अब अन्तिम खेलमा क्यानडालाई हराउनु पर्ने भएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । कुशल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।
कुशलले दीपेन्द्रसिंहसँग तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । जुन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि विकेटका लागि बनाएको यो सबभन्दा ठूलो साझेदारी हो । यसअघि पारस खड्का र आसिफ शेखले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १४५ रनको अविजित साझेदारी गरेका थिए ।
ओपनर आसिफ शेख शून्य र कुशल मल्ल १२ रनमा आउट भएपछि दीपेन्द्रसिंह ब्याटिङका लागि आएका थिए । दीपेन्द्रसिंह ब्याटिङमा आउँदा नेपाल ३६/२ को स्थितिमा थियो ।
दीपेन्द्रसिंह ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए । १८.५ ओभरमा उनी आउट हुँदा नेपाल २०७/३ को स्थितिमा थियो । लोकेश बम ६ रनमा अविजित रहे ।
फिलिपिन्सका गुरभुपेन्द्रर चोहान, ड्नियल गूडविन र मिगी पोडोस्कीले एक एक विकेट लिए ।
२१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सका लागि जोर्डन एलेग्राले सबभन्दा धेरै अविजित २७ रन बनाए । ओपनर ड्यनिय स्मिथले २० र कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । गुल्शन झा, जितेन्द्र मुखिया, अभिनाष बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।
गुल्शनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे । करण केसीले ब्याक इन्जुरीको कारण ग्लोबल क्वालिफायर गुमाउने भएपछि गुल्शनले टिममा स्थान पाएका हुन् । गुल्शनले यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ मा ओमान भ्रमणकै क्रममा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । शरद भेषावकर घाइते भएपछि उनको स्थान कुशल मल्लले लिएका छन् । कुशललाई बैकल्पिक खेलाडीका रुपमा राखिएको थियो ।