धनगढी मेयर एलपीएल–६ः हिमालयन ह्वाइट हाउस र विद्याभुषण विजयी

Image

धनगढी । धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठमाण्डौँ र विद्याभुषण पब्लिक स्कुल गेट विजयी भएका छन्। धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। हिमालयनले आफ्नो पहिलो खेलमै एभरेस्टलाई ८१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो। १ सय ९२ रनको विजयी लक्ष पछ्याएको एभरेस्टले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १० रन मात्रै बनाउन सक्यो। एभरेस्टका सन्दीप विष्टले ३० बलमा २९, योगेश भाटले १६ बलमा १९ र दीपक रोकायाले १५ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। हिमालयनको बलिङ तर्फ सन्दीप शाहीले ३, राहुल भण्डारी र सतिस यादवले २/२, दीप बोहरा, नारायण जोशी र अनुप कुँवरले १÷१ विकेट लिए।

पहिलो इनिङमा ह्वाइट हाउसका लागि वसन्त सिंह कार्कीले ७ चौका र ७ छक्काको मद्दतले ४९ बलमा सर्वाधिक ९२ रनको शानदार पारी खेले । त्यस्तै टिमका लागि दीपक बोहराले ३५ बलमा ४३ र राहुल भण्डारीले १२ बलमा १२ रनको योगदान गरे। वसन्त र दीपकले १ सय ३२ रनको साझेदारी पारी खेले। एभरेस्टको बलिङमा धर्मराज जोशी र मुकेश ओझाले ४ ओभर बलिङ गर्दै समान ३र३ विकेट लिए। हिमालयनले आफ्नो पहिलो खेलमा जित निकाल्दा एभरेस्टले पहिलो हार ब्यहोर्यो। खेलको प्लेयर अफ दी म्याच हिमालयन ह्वाइट हाउसका वसन्त कार्की घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए। गेम चेन्जर अवार्ड राहुल भण्डारीले पाए।

आजै भएको दोस्रो खेलमा विद्याभुषण पब्लिक स्कुलले लम्कीको गुरुकुल स्कुलमाथि ६ विकेटको जित निकालेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुल एकेडेमी लम्कीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो। १ सय ४१ रनको विजयी लक्ष पछ्याएको विद्याभुषणले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो। विद्याभुषणका लागि नरेन साउँदले ७ छक्काको मद्दतले ३२ बलमा सर्वाधिक ५६ रन बनाए। उसका वीरेन्द्र नाथले २९, प्रदीप चन्दले २० रन बनाएर आउट हुँदा सुरेन्द्र ऐरी १५ रनमा नट आउट रहे। गुरुकुलको बलिङ तर्फ दिनेश अधिकारीले २, देव खनाल र बसिर अहमदले समान १र१ विकेट लिए।

यस अघि पहिलो इनिङमा गुरुकुलका लागि कप्तान देव खनालले ३ छक्का र १ चौकाको मद्दतले ४४ बलमा ४७ रन बनाएर आउट भए। २९ बलको सामना गरेका बसिर अहमदले ३ छक्का र २ चौका प्रहार गर्दै टिमका लागि ४१ रनको योगदान दिए। विद्याभुषणको बलिङ तर्फ अर्जुन साउद र प्रवेश बुढ्थापाले २र२ विकेट तथा शेर मल्ल, वीरेन्द्र नाथ र रोशन थापाले समान १र१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच नरेन साउद भए। सर्वाधिक छक्काको अवार्ड पनि नरेनले नै पाउँदा, गेम चेन्जर अवार्ड सुरेन्द्र ऐरीले पाए। प्रतियोगिता अन्तरगत भोलि आइतबार हुने पहिलो खेलमा बिहान ९ः३० बजे हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र शारदा सरस्वती स्कुल दोधारा आमनेसामने हुनेछन्। भोलिको दोस्रो खेलमा दिउसो १ः३० बजे आयोजक लिटल फ्लावर र विद्याभुषण भिड्नेछन्।

फागुन १४ गतेसम्म चल्ने लिटल फ्लावर प्रिमियर लिगमा जारी संस्करणको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।