काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार श्रीलंका जाँदैछ। नेपाली टिम आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा आयोजना हुने एकदिवसीय सिरिजका लागि श्रीलंकामा प्रशिक्षण गर्न जान लागेको हो। नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्ने बताइएको छ।
श्रीलंकामा नेपाली टोलीले श्रीलंकाका क्लबसँग कम्तिमा ५ अभ्यास खेल खेल्ने तालिका छ। श्रीलंका एक साता बढीको अभ्यासपछि नेपाली टोली उतैबाट मार्च १३ मा यूएई जानेछ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन्।
नेपालले युएईमा मार्चमा सिरिज खेल्नेछ । सिरिजमा युएई, नेपाल र पीएनजी सहभागी छन् । सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।
नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् । सिरिजमा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ।
दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।
लिग–२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकमा छैटौं स्ठानमा छ। शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ। तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको यूएईको १० खेलबाट १२ अंक छ। नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।
बन्द प्रशिक्षणमा रहेका खेलाडी :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की, पवन सर्राफ, सुशन भारी, राजु रिजाल र अनिलकुमार शाह।