काठमाडौं ।
१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल ७ः४५ देखि वाङ्खडे स्टेडियममा सुरु हुँदैछ ।
चेन्नईले पहिलो खेलमा विदेशी खेलाडीको रूपमा डेभन कन्वे, ड्वेन ब्रावो, एडम मिल्ने र मिचेल सान्टनरलाई मौका दिएको छ । कोलकाताले भने आज तीन मात्र विदेशी खेलाडी खेलाएको छ । उसले पहिलो खेलमा आन्द्रे रसेल, सुनिल नारायण र साम बिलिङ्सलाई मौका दिएको छ ।
आज दुवै टिम जितको साथ सिजनको सुरुवात गर्न चाहन्छन् । यसपालि चेन्नई र कोलकाताको कप्तानी नयाँ खेलाडीले गर्दै छन् । योपटक चेन्नईको कप्तानी अलराउन्डर रवीन्द्र जडेजाले गर्नेछन् ।
केही दिनअघि मात्र महेन्द्रसिंह धोनीले उनलाई कप्तानी सुम्पेको घोषणा गरेका थिए । कोलकाताको कप्तानी श्रेयस अय्यरले गर्ने छन् । उनी मेगा अक्सनबाट कोलकातामा जोडिएका थिए । गत सिजनमा इयोन मोर्गनले टिमलाई फाइनलमा पुर्याए पनि केकेआरले अक्सनबाट उनलाई अनुबन्ध नै गरेन ।
हालसम्म चेन्नईले चार र कोलकाताले २ पटक आईपीएल उपाधि जितेको छ । कोलकाताले अन्तिमपटक २०१४ मा आईपीएल उपाधि हात पारेको थियो । त्यसयता ऊ एकपटक मात्र फाइनलमा पुग्न सकेको छ । यसपालि टिमका केही महत्वपूर्ण खेलाडी जोडिएकाले कोलकातालाई पनि उपाधि दावेदारको रूपमा हेरिएको छ ।
कोलकाताको प्लेइङ–११ : वैंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स, आन्द्रे रसेल, सुनिल नारायण, सेल्डन ज्याक्सन (विकेटकीपर), उमेश यादव, शिवम मावि र वरुण चक्रवर्ती ।
चेन्नईको प्लेइङ–११ : ऋतुराज गायकवाड, डेभन कन्वे, रोबिन उथप्पा, अम्बाती रायडू, रवीन्द्र जडेजा (कप्तान), महेन्द्रसिंह धोनी (विकेटकीपर), शिवम् दुबे, मिचेल सान्टनर, ड्वेन ब्रावो, एडम मिल्ने र तुषार देशपाण्डे ।















