चेन्नईले दियो केकेआरलाई सम्मानजनक लक्ष्य, धोनीले बनाए सर्वाधिक रन

Image

काठमाडौं ।

१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई १३२ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनायो ।

उसका लागि महेन्द्रसिंह धोनीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ५० रन बनाए । त्यस्तै, रोबिन उथप्पाले २८ र कप्तान रवीन्द्र जडेजाले नटआउट २६ रनको योगदान दिए । ऋतुराज गायकवाड शून्य, डेभन कन्वे र शिवम् दुबे ३/३ रनमै आउट भए ।

कोलकाताका उमेश यादवले दुई, आन्द्रे रसेल र वरुण चक्रवर्तीले एक/एक विकेट लिए । चेन्नईले पहिलो खेलमा विदेशी खेलाडीको रूपमा डेभन कन्वे, ड्वेन ब्रावो, एडम मिल्ने र मिचेल सान्टनरलाई मौका दिएको छ । कोलकाताले भने आज तीन मात्र विदेशी खेलाडी खेलाएको छ । उसले विदेशी खेलाडीको रूपमा आन्द्रे रसेल, सुनिल नारायण र साम बिलिङ्सलाई मौका दिएको हो ।

आज दुवै टिम जितको साथ सिजनको सुरुवात गर्न चाहन्छन् । यसपालि चेन्नई र कोलकाताको कप्तानी नयाँ खेलाडीले गरिरहेका छन् । योपटक चेन्नईको कप्तानी अलराउन्डर रवीन्द्र जडेजाले गर्दैछन्र ।

केही दिनअघि मात्र महेन्द्रसिंह धोनीले उनलाई कप्तानी सुम्पेको घोषणा गरेका थिए । कोलकाताको कप्तानी श्रेयस अय्यरले गरिरहेका छन् । उनी मेगा अक्सनबाट कोलकातामा जोडिएका थिए । गत सिजनमा इयोन मोर्गनले टिमलाई फाइनलमा पुर्याए पनि केकेआरले अक्सनबाट उनलाई अनुबन्ध नै गरेन ।

हालसम्म चेन्नईले चार र कोलकाताले २ पटक आईपीएल उपाधि जितेको छ । कोलकाताले अन्तिमपटक २०१४ मा आईपीएल उपाधि हात पारेको थियो । त्यसयता भने ऊ एकपटक मात्र फाइनलमा पुग्न सकेको छ ।

कोलकाताको प्लेइङ–११ : वैंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स, आन्द्रे रसेल, सुनिल नारायण, सेल्डन ज्याक्सन (विकेटकीपर), उमेश यादव, शिवम मावि र वरुण चक्रवर्ती ।

चेन्नईको प्लेइङ–११ : ऋतुराज गायकवाड, डेभन कन्वे, रोबिन उथप्पा, अम्बाती रायडू, रवीन्द्र जडेजा (कप्तान), महेन्द्रसिंह धोनी (विकेटकीपर), शिवम् दुबे, मिचेल सान्टनर, ड्वेन ब्रावो, एडम मिल्ने र तुषार देशपाण्डे ।