काठमाडौं ।
छैठौं सिजनको राजर्षी जनक गोल्डकपको उपाधि मकवानपुरको पिप्ले युवा क्लबले जितेको छ । आज भएको फाइनलमा ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४–३ गोल अन्तरले हराउँदै पिप्लेले उपाधि जितेको हो ।
उपाधिसँगै पिप्लेले १० लाख १ हजार रुपैयाँ पाएको छ । मछिन्द्रले ५ लाख ५ सय रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
खेलको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
भारतीय क्लबसँग त्रिभुवन आर्मीको लज्जास्पद हार
दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक–एक गोल गरे । खेलको २७औं मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो ।
४७औं मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो । खेलको ६४औं मिनेटमा विमल कुमारले माने भञ्ज्याङको अग्रतालाई तेब्बर बनाए ।
मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । मानेभञ्ज्याङले खेलको इन्ज्यरी समयमा थप एक गोल गर्दै ४–० को जित निश्चित गर्यो । राकेश सिंहले मैदानको मध्यभागबाट बल अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भयो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपर्यो ।