काठमाडौं ।
दिल्ली क्यापिटल्सले १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले लिगमा विजयी सुरुवात गरेको हो ।
मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि ललित यादव र अक्षर पटेल ‘हिरो’ सावित भए । कुनै बेला ७२/५ को अवस्थामा रहेको दिल्लीलाई जित दिलाउन ललितले ३८ बलमा चार चौका र दुई छक्कासहित अविजित ४८ रनको योगदान दिए ।
त्यस्तै, अक्षरले १७ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा नटआउट ३८ रन बनाए । अक्षर र ललितले ५ ओभरमा ७५ रनको आक्रामक साझेदारी गरे । पृथ्वी शा ३८, शार्दुल ठाकुर २२ र कप्तान ऋषभ पन्त एक रनमा आउट भए । मन्दीप सिंह र रोभम्यान पावेलले भने खाता खोल्न सकेनन् ।
मुम्बईका बसिल थम्पीले तीन, मुर्गन आश्विनले दुई र ट्यामल मिल्सले एक विकेट लिए । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो ।
उसका लागि इशान किशनले आक्रामक पारी खेले । उनले इशानलाई मुम्बईले मेगा अक्सनबाट कीर्तिमानी मूल्य १५ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । मुम्बईले अक्सनमा यति धेरै मूल्य खर्चेर खेलाडी किनेको यो पहिलोपटक हो । इशानले पहिलो खेलमा मूल्यअनुसार ब्याटिङ पनि उत्कृष्ट गरे ।
त्यस्तै, कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २१ र टिम डेविडले १२ रनको योगदान दिए । अनमोलप्रित सिंह ८ र किरण पोलार्ड ३ रनमा आउट भए । डानियल साम्स सात रनमा अविजित रहे ।
बलिङमा कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, खलिल अहमदले २ विकेट लिए ।
















