बैंग्लोरले दियो पञ्जाबलाई विशाल लक्ष्य, डुप्लेसिसले गरे छक्काको वर्षा

Image

काठमाडौं ।

१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जब किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डा. डी. पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०५ रन बनायो ।

उसका लागि कप्तान फाफ डुप्लेसिसले शानदार पारी खेले । उनले ५७ बलमा सात छक्का र तीन चौकाको मद्दतमा ८८ रनको पारी खेले । त्यस्तै, विराट कोहलीले २९ बलमा एक चौका र दुई छक्काको सहयोगमा अविजित ४१ रनको योगदान दिए ।

विकेटकीपर दिनेश कार्तिकले १४ बलमा तीन छक्का र तीन चौकासहति नटआउट ३२ रनको आक्रामक पारी खेले । अञ्जु रावत २१ रनमा आउट भए । पञ्जाब किंग्सका राहुल चाहर र अर्शदीप सिंहले मात्र एक/एक विकेट लिन सके ।

मुम्बईमाथि दिल्लीकाे शानदार जित  

आजै भएको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले लिगमा विजयी सुरुवात गरेको हो । मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि ललित यादव र अक्षर पटेल ‘हिरो’ सावित भए ।

कुनै बेला ७२/५ को अवस्थामा रहेको दिल्लीलाई जित दिलाउन ललितले ३८ बलमा चार चौका र दुई छक्कासहित अविजित ४८ रनको योगदान दिए । त्यस्तै, अक्षरले १७ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा नटआउट ३८ रन बनाए । अक्षर र ललितले ५ ओभरमा ७५ रनको आक्रामक साझेदारी गरे ।

पृथ्वी शा ३८, शार्दुल ठाकुर २२ र कप्तान ऋषभ पन्त एक रनमा आउट भए । मन्दीप सिंह र रोभम्यान पावेलले भने खाता खोल्न सकेनन् । मुम्बईका बसिल थम्पीले तीन, मुर्गन आश्विनले दुई र ट्यामल मिल्सले एक विकेट लिए । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो ।

उसका लागि इशान किशनले आक्रामक पारी खेले । उनले इशानलाई मुम्बईले मेगा अक्सनबाट कीर्तिमानी मूल्य १५ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । मुम्बईले अक्सनमा यति धेरै मूल्य खर्चेर खेलाडी किनेको यो पहिलोपटक हो । इशानले पहिलो खेलमा मूल्यअनुसार ब्याटिङ पनि उत्कृष्ट गरे ।

त्यस्तै, कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २१ र टिम डेविडले १२ रनको योगदान दिए । अनमोलप्रित सिंह ८ र किरण पोलार्ड ३ रनमा आउट भए । डानियल साम्स सात रनमा अविजित रहे । बलिङमा कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, खलिल अहमदले २ विकेट लिए ।