काठमाडौं ।
त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाल १५ रनले विजयी भएको छ । टी–२० अन्तर्राष्ट्रियमा पिएनजीविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । यसअघि नेपालले यो प्रारूपमा पिएनजीलाई हराउन सकेको थिएन ।
सन् २०१५ मा खेलिएको विश्वकप छनोटमा पपुवा न्यूगिनीविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो । त्यसयता यी दुई टिमले एकअर्काविरुद्ध अन्तर्राष्ट्रिय टी–२० म्याच खेलेका थिएनन् । सात वर्षपछि पिएनजीले नेपाललाई हराउन नसके पनि कडा टक्कर भने दिन सफल भयो ।
सोमबार भएको खेलमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो । शीर्ष क्रमका ब्याटरले ठूलो पारी खेल्न नसके पनि नर्मन भानुवालो भने टिमलाई जित नजिक पुर्याए । एकपटक नेपालले फराकिलो जित निकाल्ने आँकलन गरिएको थियो । तर, भानुआले अविश्वसनीय ब्याटिङ गरे ।
उनले २९ बलमा चार छक्का र पाँच चौकाको सहयोगमा ५२ रनको आक्रामक पारी खेले । यदि उनी आउट नभएको भए नेपालले खेल गुमाउने सम्भावना पनि बढेको थियो । तर, १८.५ ओभरमा करण केसीले भानुआलाई एल्बीडब्लू धरापमा पारे । नेपाललाई जित नजिक पुर्याए ।
अन्तिम ओभरमा पिएनजीलाई जितको लागि १७ रन आवश्यक थियो । तर, यो ओभरमा सन्दीप लामिछानेले अलि नओलाई रनआउट गर्दै नेपाललाई जित दिलाउन सफल भए । भानुआले ५२ बाहेक सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा सियाकाले २१ र चाड सोपरले अविजित १३ रन बनाए ।
बलिङमा कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, करण केसीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट हात पारे । अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट बाँडे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो ।
नेपालका लागि आसिफ शेखले ४३, रोहितकुमार पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्लले ११ रन बनाए । लोकेश बम ५, दीपेन्द्रसिंह ऐरी ४ र सोमपाल कामी भने एक रनमै आउट भए । पिएनजीका चार्ल्स अमिनी, अलि नाओ, चाड सोपरले दुई/दुई, रिली हेकुरे र नर्मन भानुआले एक/एक विकेट लिए । नेपालले सिरिजअन्तर्गत दोस्रो खेल बुधबार मलेसियाविरुद्ध खेल्नेछ ।
खेलपछि के भन्छन् सन्दीप?
पपुवा न्यूगिनीविरुद्धको ऐतिहासिक जितपछि नेपालले टिमले सुधार गर्नुपर्ने पक्ष औंल्याएका छन् । उनले त्रिवि मैदानको विकेट ब्याटिङका लागि सजिलो भएको उल्लेख गर्दै सुधार गर्नुपर्ने ठाँउ रहेको बताए ।
‘ब्याटिङ गर्न राम्रो विकेट छ । हामीले राम्रो योगफल बनाएका हौं । अझै हामीले १०/१५ जोड्न सक्थ्यौं। एकदिवसीय सिरिजमा युवा खेलाडी थिए । टी-२० सिरिजमा अनुभवी खेलाडी भएकाले सजिलो भएको छ। हाम्रो लक्ष्य टी-२० सिरिज जित्ने हो । विजयी सुरुवात गर्दा खुसी छौं ,’ उनले भने।
‘बलिङमा खुसी त छु, तर केही इम्प्रुभ गर्न जरूरी छ । बलिङमा योजनाअनुसार गर्न काम गर्न सकिरहेका छैनौं,’ सन्दीपले अगाडि भने ।