के नेपाली क्रिकेट टिममा मनमुटाव छ? यस्तो भन्छन् पूर्वकप्तान मल्ल

Image

काठमाडौं ।

नेपाली क्रिकेट टोलीले युएई भ्रमणमा रहँदा औसत प्रदर्शन मात्र गर्‍यो। महत्वपूर्ण भनिएको आइसीसी विश्वकप लिग टू एकदिवसीय सिरिजअन्तर्गतको खेलमा नेपालले युएई र पपुवा न्युगिनीसँग समान २/२ गरी ४ खेल खेल्यो। जसमध्ये पपुवा न्युगिनीसँगका दुवै खेलमा विजयी हुँदा युएईसँगको दुवै खेलमा नराम्ररी पराजित भयो।

नेपाल यसअघि पनि गत फेब्रुअरीमा सम्पन्न आइससी टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले आयोजक ओमान, फिलिपिन्स र क्यानडाविरुद्ध विजय हासिल गरेपनि सेमिफाइनल खेलमा युएईसँग पराजित भयो। जसका कारण विश्वकप खेल्ने सपना चकनाचुर भयो।

समानस्तरको युएईसामु नेपालले बलिङमा राम्रै प्रदशन गरे पनि नेपाली ब्याट्सम्यानहरु चल्न सकेनन्। पुराना अनुभवी र नेपालका स्टार भनिएका ब्याटसम्यानहरुले खराब प्रदर्शन गरे। नेपालले युएईसँगको पहिलो खेलमा जितका लागि १६९ रनको समान्य लक्ष्य पाएको थियो। नेपालले सो लक्ष्य सहजैरूपमा पूरा गर्ने अनुमान गरिए पनि ४८ रनले पराजित भयो। त्यस्तै युएईसँगको दोस्रो खेलमा २०३ रनको लक्ष्य पाएको नेपाल ९९ रनको फराकिलो पराजय भोग्यो।

क्यानले मंसिर २९ गते एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो। त्यस्तै सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै आगामी छ महिनाका लागि ‘सेन्ट्रल कन्ट्र्याक्ट’ अथवा तलब सुविधा नदिने निर्णय गरको र सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरेको जानकारी गराएको थियो।

क्यानको त्यही कदमले खेलाडी र क्यानबीचको विवाद फेरि चर्काएको थियो। विवादले खराब रूप लिन थालेपछि क्यानले पदाधिकारीहरू र कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्लसहित खेलाडीहरूले छलफल गरेर सन्दीप लामिछानेको नयाँ कप्तानीमा खेल्ने र क्यानले खेलाडीको कारबाही फिर्ता लिने सहमति भएको थियो।

नेपालका अनुभवी र पुराना ब्याट्सम्यानहरुले क्यानले छोटो समयमै क्रिकेट टिमको कप्तान परिवर्तन गरी आफूभन्दा जुनियर खेलाडीको हातमा नेपाली क्रिकेट टोली सुम्पेको र जुनियर खेलाडीको नेतृत्व स्वीकार्न नसकी खेलाडीहरुको एक आपसमा मनमुटाव रहेको नजिकबाट क्रिकेट बुझिरहेका खेलाडीहरुको आशय छ।

ब्याट्सम्यानहरुले सोचेभन्दा खराब प्रदर्शन गरेपछि युएईमा रहँदा नै नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले भनेका थिए ‘नेपाली राष्ट्रिय टोलीमा युवा खेलाडीहरूको वर्चश्व छ। युवा खेलाडीहरुले जति एक्सपोजर पाउनुपर्ने हो त्यति पाएका छैनन्। युएईसँगको खेल राम्रो नहुनुमा त्यो पनि मुख्य कारण हो।’ खेलाडीहरु एक ढिक्का भएर उच्च स्प्रिटका साथ खेल्ने गरेको भए पनि अहिले त्यस्तो अवस्था नदेखिएको उनको भनाइ थियो।

तर नेपाली राष्टिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल टोलीभित्र केही विवाद नभएको बताउँछन्। उनी भन्छन्, ‘युएईमा रहँदा त्यहाँको अवस्थाले राम्रो साथ दिएन। हामीले सुरुवातदेखि नै विकेट गुमाउँदै गयौं। त्यहीँ अवस्था अन्तिमसम्म रह्यो।’

पुबुदु पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालका लागि नेपाल आउँदा क्रिकेट विवादमा रहेको थियो। तर, प्रशिक्षक पुबुदुले त्यतिबेला नै क्रिकेटको विवाद सामान्य भएको बताएका थिए। त्यतिबेला अल्पकालीन समाधान भएको विवाद भने अब क्रिजमा देखिन थालेको क्षेत्रीय क्रिकेट खेलाडी रमेश चन्द बताउँछन्।

क्यानले शुक्रबारदेखि भइरहेको एक दिवसीय सिरिज र टी-२० सिरिजका लागि नयाँ टोलीको घोषणा गरेको छ। नयाँ टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी र शरद भेषवाकर बिनाको नेपाली टोली घोषणा गरेको छ। यो घोषणासँगै क्यानले विवाद गर्ने भनिएका खेलाडीहरुलाई टोलीबाट विस्तारै बाहिर गर्ने रणनीति रहेको बुझाइ रहेको छ। तर क्यानले नयाँ खेलाडीहरुलाई मौका दिएको जनाएको छ।

क्यानले सोमबार सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो। क्यानले नयाँ खेलाडीलाई मौका दिएको बताउँदै पूर्व राष्ट्रिय टोलीका कप्तान विनोद दास भन्छन्, ‘हामीले युएईमा ब्याटिङ अझै राम्रो हुन्छ भनेर अपेक्षा गरेका थियौं। तर, सोचेअनुरुप भएन। जो खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन्, उनीहरुले खेलिरहकै छन्। जसले राम्रो प्रदर्शन गरिरहका छैनन् कि त उनले राम्रो प्रदर्शन गर्नुपर्‍यो, नभए उनीहरुको ठाउँ अरुलाई दिनुपर्‍यो।’

क्यानले टोलीका पुराना खेलाडीहरु परिवर्तन गरेपछि क्यान अध्यक्ष रहेका चतुरबहादुर चन्दले अन्नपूर्णसँग भने ‘युएईमा रहँदा नेपाली ब्याट्सम्यानहरुको प्रदर्शन राम्रो देखिएन। त्यहीँ भएर क्यानले युवाहरुलाई यो खेलमा मौका दिइएको हो। खेलाडीहरुले खेल सुधारेपछि पनि टिममा अटाउनसक्ने नभए युवालाई मौका दिने हिसाबले क्यानले खेलाडी परिवर्तन गरेको हो।’

क्यानको नयाँ टोलीमा आफू नअटाएपछि ज्ञानेन्द्र भन्छन्, ‘यो प्रक्रियालाई मैले स्वभाविकरुपमा ठानेको छु। नयाँ खेलाडीहरुलाई पनि मौका दिनुपर्छ। उनीहरुले पनि अनुभव बनाउँछन्।’ उनले टोलीमा केही विवाद नभएको बताए। ‘टीममा हामी माझ केही विवाद छैन। खेल हारेपछि अब धेरै कुरा आउँछन्, त्यहीँ कुरा नै बाहिर आको होला,’ उनले भने। अन्नपूर्ण पोस्टबाट साभार