काठमाडौं ।
टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध मलेसिया ८ रनले विजयी भएको छ । योसँगै मलेसियाले इतिहास जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पिएनजीमाथि मलेसियाको यो पहिलो जित हो ।
आजको जितसँगै मलेसियाले सिरिजमा जितका साथ सुरुआत गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ । ऊ पहिलो खेलमा सोमबार नेपालविरुद्ध १५ रनले पराजित भएको थियो । दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।
उसका लागि टोनी उराले ५६, नर्मन भानुआले ४६, सिमन अताइले १७ र कप्तान असद भालाले ११ रन बनाए । मलेसियाका शर्विन मुनियान्दीले चार, वीरन्दीप सिंह र मोहम्मद वाफिकले तीन/तीन विकेट लिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनायो । उसका लागि वीरन्दीप सिंहले ५२ बलमा दुई चौका र दुई छक्कासहित अविजित ५९ रन बनाए ।
त्यस्तै, कप्तान अहमद फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ५६ रनको योगदान दिए । सायद अजिजले २६ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४७ रनको आक्रामक पारी खेले ।
पिएनजीका नर्मन भानुआले दुई र नोसेना पोक्वानाले एक विकेट लिए । सिरिजअन्तर्गत मलेसियाले दोस्रो खेल भोलि नेपालविरुद्ध खेल्नेछ ।