काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको आईपीएलअन्तर्गत चौथो खेलमा नयाँ टोली लखनऊ सुपरजाइन्ट्स र गुजरात टाइटन्सले प्रतिस्पर्धा गरे । गएराति मुम्बईको वानखडेमा भएको प्रतिस्पर्धात्मक खेलमा गुजरातले लखनऊलाई ५ विकेटले हरायो ।
लखनऊले खेल हारे पनि उसका युवा ब्याटर आयुष बदोनीको भने सबैको मन जिते । डेब्यू खेल । दबाबमा रहेको अवस्थामा ब्याटिङ गर्नु । बलिङमा स्टार बलर । यी मुख्य चुनौती उनकासामु थिए । तर, उनले हिम्मत हारेनन् । र, आयुषले खेले आईपीएल डेब्यू म्याचमै उत्कृष्ट अर्धशकीय पारी ।
उनले ४१ बलमा ५४ रन जोडे । जसमा आयुषले ४ चौका र ३ छक्का हिर्काए । उनले आउट हुनुअघि हार्दिक पाण्ड्यासहित विपक्षी स्टार बलरलाई दबामा राखेका थिए ।
आयुषले १५ ओभरमा उनले गुजरातका कप्तान पाण्ड्याविरुद्ध उत्कृष्ट ब्याटिङ गरे । उनले सरुवाती तीन बलमा एक छक्का र दुई चौका हिर्काए । उनले १५.३ ओभरमा स्टार स्पिनर राशिद खानको बलमा पनि छक्का हिर्काएका थिए ।
दिल्लीमा जन्मिएका २२ वर्षीय दायाँ हाते ब्याटर बदोनी यसअघि भारतको यू–१९ टिममा थिए । उनले सन् २०१८ को यू–१९ एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध २८ बलमा ५२ रन बनाएका थिए। उनलाई यो सिजन लखनउले २० लाख भारुको न्यूनतम मूल्यमा टिममा अनुबन्ध गरेको थियो ।
सन् २०२१ को जनवरीमा उनले दिल्लीबाट खेल्दै टी–२० मा डेब्यू गरेका थिए । उनले घरेलु टी-२० मा ५ खेलमा केवल ८ रन मात्र बनाउन सकेका थिए । लखनउबाट खेल्नुअघि उनीसँग घरेलु टी–२० मा ५ खेलमा ८ रन बनाउनुबाहेक सिनियर स्तरमा अनुभव थिएन । उनले कुनै लिस्ट ‘ए’ र पहिलो श्रेणीको क्रिकेट खेलेका थिएनन् ।
यद्यपि, आयुषले भारतको उमेर समूहका खेलमा भने राम्रो खेल देखाएका थिए । यू–१९ एसिया कपसहित उनले श्रीलंकाविरुद्धको युथ टेस्टमा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए । श्रीलंकाविरुद्धको युथ टेस्टमा उनले १८५ रन बनाएका थिए ।
घरेलु क्रिकेटमा खासै छाप छोड्न नसके पनि आयुषले आईपीएलमा भने राम्रो संकेत देखाएका छन् । २० लाख भारु न्यूनतम मूल्यमा टिममा अनबुन्ध भए पनि उनले पहिलो खेलमै प्लेइङ–११ मा मौका पाए । र, आयुषले सबैलाई प्रभावित पारेका छन् ।