मलेसियामाथि नेपालको शानदार जित, दीपेन्द्रले रचे इतिहास

Image

काठमाडौं ।

घरेलु मैदानमा जारी टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई हराएको थियो ।

दोस्रो खेलमा मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ३८ बलमा सात चौका र एक छक्कासहित ५७ रन बनाए ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१, रोहितकुमार पौडेलले १२ र दिलिप नाथले अविजित १५ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा अविजित रहे ।

मलेसियाका वीरन्दीप सिंहले दुई, मोहम्मद आमिर र सैयद अजिजले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनायो ।

उसका लागि जुबैदी जुल्किफ्लेले १५ बलमा तीन चौका र दुई छक्कासहित ३२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, कप्तान अहमद फैजले २४, मोहम्मद आमिरले १६, सैयद अजिजले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसीले दुई/दुई, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले एक/एक विकेट लिए । पहिलो इनिङ्समा ४ अ‍ोभरको स्पेल पूरा गर्ने बलरमा सबैभन्दा बढी किफायती दीपेन्द्रसिंह ऐरी रहे ।

उनले ४ ओभरमा १४ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए । नेपालले तेस्रो खेल भोलि पिएनजीविरुद्ध खेल्नेछ ।

दीपेन्द्रले रचे इतिहास

नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरीले इतिहास रचेका छन् । उनले नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ सय रन पूरा गर्ने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् ।

त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरुद्ध २१ रन जोडेसँगै दीपेन्द्रले यो उपलब्धि हासिल गरे । योसँगै उनले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका छन् ।

यसअघि नेपालबाट सर्वाधिक टी–२० मा सर्वाधिक रनको कीर्तिमान पारसको नाममा थियो । उनले ३३ म्याचको ३२ पारीमा ४ अर्धशतक र १ शतकसहित ७ सय ९९ रन बनाएका छन् । दीपेन्द्रले ३६ म्याचको ३१ पारीमा ८ सय रन बनाए । जसमा उनले ३ अर्धशतक बनाएका छन् ।