आफ्नो कप्तानीमा नेपालले लगातार दुई खेल जितेपछि यस्तो भन्छन् सन्दीप

Image

काठमाडौं ।

टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपाल पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध १५ रनले विजयी भएको थियो ।

दोस्रो खेलमा मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा सात चौका र एक छक्कासहित ५७ रनको योगदान दिए । टी–२० क्रिकेटमा आसिफको यो उच्च स्कोर हो ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथले अविजित १५ र रोहित पौडेलले १२ रन बनाए । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका वीरन्दीप सिंहले दुई, मोहम्मद आमिर र सैयद अजिजले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनायो ।

उसका लागि जुबैदी जुल्कि फ्लेले १५ बलमा तीन चौका र दुई छक्कासहित ३२ रनको पारी खेले । त्यस्तै, कप्तान अहमद फैजले २४, मोहम्मद आमिरले १६, सैयद अजिजले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसीले दुई/दुई, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले एक/एक विकेट लिए । बुधबारको खेलमा ४ ओभरको स्पेल पूरा गर्ने बलरमा दीपेन्द्र सबैभन्दा बढी किफायती रहे ।

उनले ४ ओभरमा १४ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए । मलेसियाविरुद्धको जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले तेस्रो खेल बिहीबार पिएनजीविरुद्ध खेल्नेछ ।

दीपेन्द्रले रचे इतिहास

नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरीले इतिहास रचेका छन् । उनले नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ सय रन पूरा गर्ने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् । त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरुद्ध २१ रन जोडेसँगै दीपेन्द्रले यो उपलब्धि हासिल गरे । योसँगै उनले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका छन् ।

यसअघि नेपालबाट टी–२० मा सर्वाधिक रन बनाउने कीर्तिमान पारसको नाममा थियो । उनले ३३ म्याचको ३२ पारीमा चार अर्धशतक र एक शतकसहित ७ सय ९९ रन बनाएका छन् । दीपेन्द्रले ३६ म्याचको ३१ पारीमा ८ सय रन पूरा गरे । जसमा उनले ३ अर्धशतक बनाएका छन् । २२ वर्षीय दीपेन्द्र उमेर समूहदेखि नै नेपाली टिमका लागि दुवै प्रारूपमा लगातार राम्रो बनाइरहेका ब्याटर हुन् ।

मलेसियाविरुद्धको जितपछि के भन्छन् सन्दीप

मलेसिाविरुद्धको जितपछि प्रतिक्रिया दिँदै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले आसिफ शेखको ब्याटिङको प्रशंसा गरे । उनले कुशल भुर्तेल १ रनमै आउट भएपछि आसिफले खेलेको पारी उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका हुन् । ‘आसिफले राम्रो इनिङ्स खेले । उनले जसरी नेपालको इनिङसलाई अघि बढाएका थिए । त्यहीअनुसार खेल फिनिसिङ गरेर आएको भए सुनमा सुगन्ध हुन्थ्यो । तर, खेलमा कहिलेकाहीँ यस्तो हुन्छ,’ सन्दीपले म्याच सकिएपछि सञ्चारकर्मीसँग भने ।

उनले जारी सिरिजमा कुशल भुर्तेल लयमा नदेखिए पनि उनीप्रति टिमको पूरा विश्वास रहेको पनि बताए । ‘आज हामी छिटोभन्दा छिटो खेल सक्ने योजनामा थियौँ । कुशलले त्यसका लागि प्रयास गरेका थिए । तर राम्रो सट खेल्दा खेल्दै पनि भाग्यले साथ दिएन । खेलमा यस्तो भइरहन्छ । अझै पनि हामीलाई ओपनरप्रति विश्वास छ । आशा छ आगामी खेलमा राम्रो प्रदर्शन गर्नेछन्,’ सन्दीपले भने । साथै, उनले मलेसियाविरुद्ध करण केसीले पहिलो बलमै विकेट लिनुले पनि नेपालले शानदार जित निकाल्न सहयोग मिलेको बताए ।

‘सुरुमै राम्रो ब्याट्सम्यानको विकेट लिन सफल भयौँ । त्यसले सहज बनायो । बलरहरूले निरन्तर विकेट लिइराखे । आजको खेल धेरै सजिलो पनि थिएन । तर धेरै चुनौतीपूर्ण पनि थिएन,’ सन्दीपले भने, ‘यस जितको श्रेय बलरलाई जान्छ । बलिङबाट जस्तै ब्याटिङमा पनि हामीले डोमिनेन्ट गर्न सक्यौँ । अझै पनि हामी फाइनलमा पुगेका छैनौँ । अझै दुई खेल बाँकी छन् । कुनै पनि खेललाई हलुका ढंगले लिनेछैनौँ । चारै खेल जितेर फाइनल पुग्न चाहन्छौँ ।’