काठमाडौं ।
नेपाली क्रिकेट टोलीका युवा ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२० ब्याटिङ वरियतामा सुधार गरेका छन् । उनले आईसीसीको नयाँ वरियतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा कुशल २९ औं स्थानमा उक्लिएका हुन् ।
उनी पछिल्लो हप्ता वरियताको ३१ औं स्थानमा थिए । योसँगै कुशलले इतिहास रचेका छन् । उनले टी–२० मा नेपालको तर्फबाट टी-२० वरियतामा शीर्ष ३० भित्रपर्ने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् । हालसम्म कुशलबाहेक कुनै पनि नेपाली ब्याटरले यो स्थान हासिल गरेका थिएनन् ।
यस्तै, शीर्ष १०० भित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरियतामा यथावत छन् । दीपेन्द्र वरीयताको ५१औं स्थानमा छन् । वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तानकै अर्का ब्याटर मोहम्मद रिजवान यथावत छन् ।
यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका एडेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्यूजिल्याण्डका डेविड कन्वे छन् ।
यस्तै, टी-२० को बलिङ वरियतामा भने नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । नयाँ वरीयतामा सन्दीप ३७ औं स्थानमा छन् । टी–२० वरियतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१ औं स्थानमा छन् ।