काठमाडौं ।
टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत पाहुना टोली मलेसिया नेपालविरुद्ध ६ विकेटले पराजित भएको छ । पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ८ रनले हराएको मलेसियाले नेपालविरुद्ध भने सन्तोषजनक प्रदर्शन गर्न सकेन ।
यद्यपि, घरेलु टोली नेपालका अनुभवी बलरविरुद्ध भने मलेसियाका ब्याटरले दबाबमा राख्ने कोशिस गरे । पहिलो बलमै वीरन्दीप सिंहलाई गुमाए पनि उसका अन्य ब्याटरले अनुभवी बलर सोमपाल कामीविरुद्ध राम्रो ब्याटिङ गरे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभर पूरा खेल्दै ११४ रन बनायो । उसका लागि जुबैदी जुल्कि फ्लेले १५ बलमा तीन चौका र दुई छक्कासहित ३२ रनको आक्रामक पारी खेले । त्यस्तै, कप्तान अहमद फैजले २४, मोहम्मद आमिरले १६, सैयद अजिजले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछाने, करण केसीले दुई/दुई, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले एक/एक विकेट लिए । मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले अर्धशतकीय पारी खेले ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथले अविजित १५ र रोहित पौडेलले १२ रन बनाए । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका वीरन्दीप सिंहले दुई, मोहम्मद आमिर र सैयद अजिजले एक/एक विकेट लिए ।
नेपालसँगको हारपछि मलेसियाका कप्तान के भन्छन्?
मलेसिया टिमका कप्तान अहमद फैजले घरेलु टोलीका बलरको दबाब झेल्न नसक्दा टिम पराजित हुन पुगेको बताएका छन् । म्याच सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पहिलो विकेट पतनका बाबजुद राम्रो प्रदर्शन गरे पनि पछि आउने ब्याटरले दबाब झेल्न नसक्दा नेपालसँग पराजित हुन पुगेको बताएका हुन् ।
‘पहिलो विकेट पतनका बाबजुद हामीले रन बनाएका थियौं । तर, पछि आउने ब्याटरले सोचेअनुरूप खेल्न सकेनन् । यदि कुनै पनि ब्याटरले ठूलो पारी खेल्न सकेका भए चुनौतीपूर्ण लक्ष्य दिने थियौं । तर, सोचेअनुरूप हुन सकेन,’ फैजले भने । उनले नेपालसँगको खेलमा गरेका गल्ती आउँदो दिनमा सुधार गर्ने पनि बताए ।
‘नेपालसँगको खेलमा हामीले केही गल्ती गरेका छौं । ती गल्तीबाट पाठ सिक्दै आउने खेलमा प्रदर्शन गर्छौं । आजको खेलमा निराशाका कुरा मात्र नभइ केही सकारात्मक कुरा पनि हासिल गरेका छौं । आगामी दिनमा गल्ती नदोहोर्याउने कोशिस गर्नेछौं,’ कप्तान फैजले भने ।
मलेसियाविरुद्धको जितपछि के भन्छन् सन्दीप?
मलेसिाविरुद्धको जितपछि प्रतिक्रिया दिँदै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले आसिफ शेखको ब्याटिङको प्रशंसा गरे । उनले कुशल भुर्तेल १ रनमै आउट भएपछि आसिफले खेलेको पारी उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका हुन् । ‘आसिफले राम्रो इनिङ्स खेले । उनले जसरी नेपालको इनिङसलाई अघि बढाएका थिए । त्यहीअनुसार खेल फिनिसिङ गरेर आएको भए सुनमा सुगन्ध हुन्थ्यो । तर, खेलमा कहिलेकाहीँ यस्तो हुन्छ,’ सन्दीपले म्याच सकिएपछि सञ्चारकर्मीसँग भने ।
उनले जारी सिरिजमा कुशल भुर्तेल लयमा नदेखिए पनि उनीप्रति टिमको पूरा विश्वास रहेको पनि बताए । ‘आज हामी छिटोभन्दा छिटो खेल सक्ने योजनामा थियौँ । कुशलले त्यसका लागि प्रयास गरेका थिए । तर राम्रो सट खेल्दा खेल्दै पनि भाग्यले साथ दिएन । खेलमा यस्तो भइरहन्छ । अझै पनि हामीलाई ओपनरप्रति विश्वास छ । आशा छ आगामी खेलमा राम्रो प्रदर्शन गर्नेछन्,’ सन्दीपले भने । साथै, उनले मलेसियाविरुद्ध करण केसीले पहिलो बलमै विकेट लिनुले पनि नेपालले शानदार जित निकाल्न सहयोग मिलेको बताए ।
‘सुरुमै राम्रो ब्याट्सम्यानको विकेट लिन सफल भयौँ । त्यसले सहज बनायो । बलरहरूले निरन्तर विकेट लिइराखे । आजको खेल धेरै सजिलो पनि थिएन । तर धेरै चुनौतीपूर्ण पनि थिएन,’ सन्दीपले भने, ‘यस जितको श्रेय बलरलाई जान्छ । बलिङबाट जस्तै ब्याटिङमा पनि हामीले डोमिनेन्ट गर्न सक्यौँ । अझै पनि हामी फाइनलमा पुगेका छैनौँ । अझै दुई खेल बाँकी छन् । कुनै पनि खेललाई हलुका ढंगले लिनेछैनौँ । चारै खेल जितेर फाइनल पुग्न चाहन्छौँ ।’