आरसीबीलाई बलियो लक्ष्य दिन चुक्यो केकेआर, वानिन्दु र हर्षलको शानदार बलिङ

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को छैटौं म्याचमा कोलकाता नाइट राइडर्स (केकेआर) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई १२९ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डाक्टर बाइ माटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले १८.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो ।

उसका लागि आन्द्रे रसेलले १८ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक २५ रन बनाए । स्टार ब्याटरले साझेदारी गर्न नसकिरहेको बेला १० औं विकेटका लागि उमेश यादव र वरुण चक्रवर्तीले भने राम्रो ब्याटिङ गरे । यो जोडीबीच अन्तिम विकेटका लागि २६ बलमा २७ रनको साझेदारी भयो ।

जसमा उमेशले १७ र वरुणले १० रनको योगदान दिए । उनीहरूकै कारण केकेआरले आरसीबीलाई सम्मानजनक लक्ष्य दिन सक्यो । त्यस्तै, साम बिलिङ्स १४, कप्तान श्रेयस अय्यर १३, सुनिल नारायण १२, वैंकटेश अय्यर, नीतिश राणा १०/१० र अजिंक्य रहाणे १० रनमा आउट भए ।

बलिङमा वानिन्दु हसरंगा र हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरे । हसरंगाले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण ४ विकेट लिए । पटेलले ४ ओभरमा २ मेडनसहित ११ रन दिएर २ विकेट लिए । त्यस्तै, आकाश दीपले ३ र मोहम्मद सिराजले एक विकेट लिए ।

जारी लिगमा केकेआरले पहिलो खेलमा जित हासिल गरिसकेको छ । आरसीबीले भने हारबाट लिगको सुरुवात गरेको छ । आज ऊ पहिलो जित निकाल्न चाहन्छ । केकेआर जित यात्रालाई निरन्तरता दिने योजनामा छ । यद्यपि, त्यो योजना पूरा हुने सम्भावान न्यून छ ।