काठमाडौं ।
नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो तेस्रो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । साथै, नेपालको यो ऐतिहासिक जित पनि हो ।
अहिलेसम्म पिएनजीलाई नेपालले यति फराकिलो अन्तरले टी–२० मा हराउन सकेको थिएन । त्यस्तै, आज नेपालले आफ्नो ५० औं टी–२० अन्तर्राष्ट्रिय म्याच पनि हो । र, आफ्नो ऐतिहासिक खेलमा नेपालले उत्कृष्ट खेल्यो ।
पिएनजीले भने सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । आफ्नो तेस्रो खेलमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । उसका लागि चाल्स अमिनीले ६२, टोनी उमराले ४३, सेसे बाउले २५ र नोर्मन भानुआले १७ रन बनाए ।
बलिङमा करण केसीले ह्याट्रिक लिए । उनले अन्तिम ओभरमा चाड सोपर, साइमन अताइ र नौसेना पोकनालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २१ रन दिएर कूल ५ विकेट लिए । टी–२० मा करणको यो हालसम्मकै उच्च बलिङ प्रदर्शन पनि हो ।
त्यस्तै, सोमपाल कामी, अविनाश बोहराले दुई/दुई र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । चौथो अर्धशतक बनाउने क्रममा उनले ३३ बलमा चार छक्का र तीन चौकासहित ६६ रनको योगदान दिए । योसँगै दीपेन्द्रले नेपालको तर्फबाट टी–२० मा सर्वाधिक अर्धशतक बनाउने मामलामा पूर्वकप्तान पारस खड्काको रेकर्ड बराबर पनि गरेका छन् ।
पारसले पनि यो प्रारूपमा ४ अर्धशतक बनाएका छन् । टी–२० मा सर्वाधिक अर्धशतक बनाउने नेपाली ब्याटरको शीर्षमा भने कुशल भुर्तेल छन् । उनले हालसम्म सर्वाधिक ५ अर्धशतकीय पारी खेलेका छन् ।
त्यस्तै, आज डेब्यू गरेका आदिल अन्सारीले पनि शानदार पारी खेले । उनले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रनको योगदान दिए । रोहितकुमार पौडेलले पनि शानदार ब्याटिङ गरे । उनले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाए ।
आसिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रनको योगदान दिए । २१ बलको सामना गरेका कुशल भुर्तेल १७ रनमा आउट भए । उनले त्यसक्रममा दुई चौका हिर्काए ।
करण केसी एक र दिलिप नाथ भने शून्यमै आउट भए । पिएनजीका काबुआ मोरियाले तीन, रिले हेकुरेले दुई, नौसेना पोक्वाना र नोमर्न भानुआले एक/एक विकेट लिए ।