काठमाडौं ।
घरेलु मैदानमा जारी टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाललाई ३७ रनले जिताउन अलराउन्डर करण केसीको भूमिका अहम् रह्यो । उनले खेलमा ब्याटिङबाट योगदान दिन नसके पनि बलिङमा भने शानदार प्रदर्शन गरे ।
करणले बलिङमा ह्याट्रिकसहित कूल ५ विकेट लिए । उनले अन्तिम ओभरमा चाड सोपर, सिमन अताइ र नोसेना पोक्वानालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । योसँगै करण नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् ।
साथै, तेस्रो खेलमा पनि करणले लेगा सियाका र कप्तान असद भालालाई एक/एक रनमा आउट गर्दै शानदार सुरुवात दिलाएका थिए । उनले ३.४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । टी–२० मा करणको यो हालसम्मकै उच्च बलिङ प्रदर्शन पनि हो ।
नेपालको जितमा ‘नायक’ सावित भएका करणले खेल सकिएपछि प्रतिक्रिया दिएका छन् । उनले आफ्नो लागि आजको दिन विशेष रहेको बताए । ‘मेरो लागि आजको खेल विशेष रह्यो । विगतमा दुईपटक चार/चार विकेट लिइसकेको थिए । ह्याट्रिकसहित पाँच विकेट लिएको पहिलो हो । यो क्षण मेरो लागि मात्र नभएर समग्र नेपाली क्रिकेटका लागि सुन्दर रह्यो,’ करणले भने,’ आगामी दिनमा हेरौं के कस्तो हुन्छ, मेरो मुख्य लक्ष्य टिमलाई सधैं योगदान दिन सकु भन्ने हुन्छ ।’
करणले अघिल्लो खेलमा ४ ओभरमा ४४ रन दिएर ३ विकेट लिएका थिए । सो खेलमा रन बढी खर्चिए पनि उनले उत्कृष्ट अन्त्य गरेका थिए । र, सोही लय करणले आजको खेलमा पनि देखाए ।
जितपछि के भन्छन् सन्दीप?
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टोली एक खेल अगावै सिरिजको फाइनल पुग्नमा सबै खेलाडीको महत्वपूर्ण भूमिका रहेको प्रतिक्रिया दिएका छन् । ‘यो उपलब्धिमा सबै खेलाडी अहम् भूमिका छ । विशेष गरी तेस्रो खेलमा धेरै खेलाडी प्रदर्शन उत्कृष्ट रह्यो । नतिजाप्रति म असाध्यै खुसी छु,’ म्याच सकिएपछि उनले भने ।
साथै, सन्दीपले करण केसी, मोहम्मद आदिल आलम, दीपेन्द्रसिंह ऐरी, विनाश बोहरा र आसिफ शेखको खुलेरै प्रशंसा गरे । ‘ब्याटिङमा मोहम्मद आदिल आलम, दीपेन्द्र, आसिफको ब्याटिङ उत्कृष्ट रह्यो । उनीहरूको प्रदर्शनले म निकै खुसी छु,’ सन्दीपले भने, ‘बलिङमा करण, अविनाश दाइहरूको प्रदर्शन उत्कृष्ट रह्यो । समग्रमा आजको खेलमा हामीले राम्रो गर्न सक्यौं ।’











