काठमाडौं ।
अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली पाकिस्तान ६ विकेटले विजयी भएको छ । पाकिस्तानले एकदिवसीयमा पहिलोपटक ३४९ रनको लक्ष्य प्राप्त गरेको हो । साथै, सन् २०१७ को जनवरीयता वानडे क्रिकेटमा अस्ट्रेलियामाथि पाकिस्तानको यो पहिलो जित पनि हो ।
कीर्तिमानी लक्ष्य पूरा गर्न कप्तान बाबर आजम र प्रारम्भिक ब्याटर इमान उल हकले उत्कृष्ट शतकीय पारी खेले । आजमले ८३ बलमा १ सय १४ रन र हकले ९७ बलमा १ सय ६ रन बनाए । उनीहरूकै शानदार ब्याटिङमा पाकिस्तानले लक्ष्य ४९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । हक र आजमको शतकबाहेक फखर जमानले ६७, खुसदिल साहले अविजित २७ र मोहम्मद रिजवानले २३ रन बनाए ।
अष्ट्रेलियाका एडम जम्पाले दुई, मार्कस स्टोइनिस र नाथन एलिसले एक/एक विकेट लिए । त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको अस्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनायो । उसका लागि बेन म्याक्डरमटले शतकीय पारी खेले । उनले १०८ बलमा १० चौका र चार छक्काको सहयोगमा १०४ रन बनाए ।
त्यस्तै, ट्रभिस हेडले ८९, मार्नस लाबुसेनले ५९, मार्कस स्टोइनिसले ४९ र सन एबटले २९ रनको योगदान दिए । पाकिस्तानका शाहिनसाह अफ्रिदीले चार, मोहम्मद वसिमले २, खुसदिल साह र जाहिद महमूदले एक/एक विकेट लिए ।
पाकिस्तानको जितसँगै तीन खेलको शृंखला रोमाञ्चक १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाकिस्तान ८८ रनले पराजित भएको थियो । पाकिस्तान र अष्ट्रेलियाबीचको निर्णायक खेल भोलि हुनेछ ।
बाबरले बनाए कीर्तिमान
पाकिस्तानी टिमका कप्तान बाबर आजमले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमान बनाएका छन् । उनले सर्वाधिक कम पारीमा १५ शतक पूरा गर्ने रेकर्ड बनाएका हुन् । बाबरले ८३ पारीमा एकदिवसीयमा १५ शतक पूरा गरेका हुन् ।
उनले यो उपलब्धि पाकिस्तानविरुद्धको सिरिजको दोस्रो खेलमा ११४ रन बनाएसँगै हासिल गरे । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका हासिम अमलाको नाममा थियो । उनले वानडेमा ८६ पारीमा १५ शतक बनाएका थिए ।
त्यस्तै, विराट कोहलीले १०६, डेविड वार्नर र शिखर धवनले १०८/१०८ पारी खेलेर एकदिवसीयमा यो उपलब्धि हासिल गरेका थिए ।