काठमाडौं ।
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले लिगको अन्तिम खेलमा आज मलेसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल पनि मध्यान्ह साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
नेपाल एक खेल अगावै सिरिजको फाइनलमा पुगिसकेको छ । आजको खेल जित्दै नेपाल सिरिजका लगातार चौथो खेल जित्ने योजनामा छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रन, दोस्रोमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले हराएको थियो ।
फाइनलमा स्थान बनाउन मलेसियालाई भने आज खेल जित्नैपर्ने दबाब छ । जारी सिरिजमा राम्रो ब्याटिङ गरिरहेकोले मलेसियाको त्यो सम्भावना पनि जीवितै छ । यद्यपि नेपालले पनि यो सिरिजमा शानदार प्रदर्शन गरिरहेको छैन । आज मलेसिया पराजित भए फाइनलमा पिएनजी पुग्नेछ ।
मलेसियासँगको खेलमा नेपालले प्लेइङ–११ मा व्यापक परिवर्तन गर्न सक्छ । आज जारी सिरिजको अघिल्लो तीन खेलमा पर्याप्त मौका नपाएका युवा खेलाडीलाई अवसर दिने सम्भावना छ । टिम फाइनलमा पुगिसकेकाले नेपालले आज लोकेश बम, सागर ढकाल, विवेकुमार यादव र कमलसिंह ऐरीलाई मौका दिने सम्भावना रहेको हो । उनीहरू कुशल भुर्तेल, आरिफ शेख, सोमपाल कामी र दिलिप नाथको स्थान लिन सक्छन् ।
यी खेलाडी आज विश्राम पाए पनि फाइनलमा भने ब्याक हुन सक्छन् । कुशलले विश्राम पाएमा ओपनिङमा लोकेशले आसिफलाई साथ दिने सम्भावना छ । साथै, दिलिपलाई विश्राम दिए आसिफले नै किपिङको जिम्मेवारी पनि सम्हाल्ने छन् ।
हालसम्म मलेसिया र नेपालले सातपटक एकअर्काविरुद्ध अन्तर्राष्ट्रिय टी–२० म्याच खेलेका छन् । जसमा नेपालले मलेसियालाई ६ खेलमा हराएको छ । २०२० को एक खेल मात्र नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।
नेपालको सम्भावित प्लेइङ–११ : लोकेश बम, आसिफ शेख (विकेटकीपर), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, विवेककुमार यादव, करण केसी, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), अविनाश बोहरा र सागर ढकाल ।