काठमाडौं ।
घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा मलेसियाविरुद्ध नेपालले ब्याटिङको निम्तो पाएको छ । नेपाल–मलेसियाबीचको खेल साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।
आज नेपालले सोमपाल कामीलाई विश्राम दिएर कमलसिंह ऐरीलाई प्लेइङ–११ मा समावेश गरेको हो । नेपाल एक खेल अगावै सिरिजको फाइनलमा पुगिसकेको छ । आजको खेल जित्दै नेपाल सिरिजमा अपराजित रहन चाहन्छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रन, दोस्रोमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले हराएको थियो ।
फाइनलमा स्थान बनाउन मलेसियालाई भने आज खेल जित्नैपर्ने दबाब छ । मलेसिया पराजित भए फाइनलमा पिएनजी पुग्नेछ । पिएनजीले शुक्रबार भएको खेलमा मलेसियालाइृ ८ विकेटले हराएको थियो । हालसम्म मलेसिया र नेपालले सातपटक एकअर्काविरुद्ध अन्तर्राष्ट्रिय टी–२० म्याच खेलेका छन् । जसमा नेपालले मलेसियालाई ६ खेलमा हराएको छ । २०२० को एक खेल मात्र नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।
नेपालकाे प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अविनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहितकुमार पौडेल ।