काठमाडौं ।
घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । टी–२० मा नेपालले मलेसियालाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित अविजित ११० रन बनाए ।
दीपेन्द्र नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो ब्याटर बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाइसकेका छन् । त्यस्तै, आज रोहित पौडेलले ५१, आसिफ शेखले १८, कुशल भुर्तेलले १२ र मोहम्मद आदिल आलमले १४ रनको योगदान दिए ।
मलेसियाका मोहम्मद आमिर, वीरन्दीप सिंह, मोहम्मद वाफिक र स्याजरुल इद्रुसले एक/एक विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आज नेपालले सोमपाल कामीलाई विश्राम दिएर कमलसिंह ऐरीलाई प्लेइङ–११ मा समावेश गरेको हो । नेपाल एक खेल अगावै सिरिजको फाइनलमा पुगिसकेको छ ।
आजको खेल जित्दै नेपाल सिरिजमा अपराजित रहन चाहन्छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रन, दोस्रोमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले हराएको थियो । फाइनलमा स्थान बनाउन मलेसियालाई भने आज खेल जित्नैपर्ने दबाब छ । मलेसिया पराजित भए फाइनलमा पिएनजी पुग्नेछ ।
पिएनजीले शुक्रबार भएको खेलमा मलेसियालाइृ ८ विकेटले हराएको थियो । हालसम्म मलेसिया र नेपालले सातपटक एकअर्काविरुद्ध अन्तर्राष्ट्रिय टी–२० म्याच खेलेका छन् । जसमा नेपालले मलेसियालाई ६ खेलमा हराएको छ । २०२० को एक खेल मात्र नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।
नेपालकाे प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अविनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहितकुमार पौडेल ।