दीपेन्द्रको ऐतिहासिक शतकबारे यस्तो भन्छन् पूर्वकप्तान विनोद दास

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण ब्याटर दीपेन्द्रसिंह ऐरीले शानदार शतकीय पारी खेलेका छन् । उनले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा मलेसियाविरुद्ध अविजित ५७ बलमा ११० रनको पारी खेलेका हुन् । त्यसक्रममा दीपेन्द्रले १० चौका र ६ छक्का हिर्काए ।

दीपेन्द्रको यो आक्रामक शतकीय पारीको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । धेरैले उनको ब्याटिङको प्रशंसा गरेका छन् । राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासले पनि दीपेन्द्रको ब्याटिङको खुलेरै प्रशंसा गरेका छन् ।

‘एकदमै उत्कृष्ट, उत्कृष्ट इनिङ्स, बेस्ट अफ लक दीपेन्द्र सिंह ऐरी,’ विनोदले फेसबुकमा लेखेका छन् । दीपेन्द्र नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो ब्याटर हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाइसकेका छन् ।

त्यस्तै, आज रोहित पौडेलले ५१, आसिफ शेखले १८, कुशल भुर्तेलले १२ र मोहम्मद आदिल आलमले १४ रनको योगदान दिए । मलेसियाका मोहम्मद आमिर, वीरन्दीप सिंह, मोहम्मद वाफिक र स्याजरुल इद्रुसले एक/एक विकेट लिए ।

दीपेन्द्रले तोडे ज्ञानेन्द्रको कीर्तिमान

दीपेन्द्रले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमान पनि तोडेका छन् । उनले टी-२० अन्तर्राष्ट्रियमा एक पारीमा सर्वाधिक रन बनाउने मामलामा ज्ञानेन्द्रको रेकर्ड तोडेका हुन् ।

दीपेन्द्रले यो उपलब्धि घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मलेसियाविरुद्ध हासिल गरे । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित ११० रनको अविजित शतकीय पारी खेले ।

यसअघि टी–२० अन्तर्राष्ट्रिय एक पारीमा सर्वाधिक रन बनाउने रेकर्ड ज्ञानेन्द्रको नाममा थियो । उनले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १०७ रनको पारी खेलेका थिए । अब मल्लको सो रेकर्ड ऐरीले तोडेका छन् ।