काठमाडौं ।
घरेलु मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार चौथो निकालेको छ । चौथो खेल जित्ने क्रममा नेपालले मलेसियालाई ८५ रनले हरायो । योसँगै नेपाल जारी सिरिजमा लगातार चौथो खेल जित्दै फाइनल पुग्ने नेपाल पहिलो टोलीसमेत बनेको छ ।
मलेसिया भने आजको हारसँगै सिरिजबाट बाहिरिएको छ । ऊ हार्दा पपुवा न्यूगिनी –पिएनजी) भने फाइनलमा पुग्न सफल भयो । आफ्नो चौथो खेलमा नेपालले दिएको २२४ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
उसका लागि वीरन्दीप सिंहले ४७, कप्तान अहमद फैजले ३३, सैयद अजिजले १७ र ऐनूल हाफिजले १८ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरीले दुई/दुई, रोहितकुमार पौडेलले र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित अविजित ११० रन बनाए ।
दीपेन्द्र नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो ब्याटर बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाइसकेका छन् । त्यस्तै, आज रोहित पौडेलले ५१, आसिफ शेखले १८, कुशल भुर्तेलले १२ र मोहम्मद आदिल आलमले १४ रनको योगदान दिए ।
मलेसियाका मोहम्मद आमिर, वीरन्दीप सिंह, मोहम्मद वाफिक र स्याजरुल इद्रुसले एक/एक विकेट लिए । अब नेपालले सिरिजको उपाधिका लागि सोमबार पिएनजीविरुद्ध खेल्नेछ । सो खेल पनि मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।















