काठमाडौं ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा सोमबार नेपाल र पपुवा न्यूगिनी (पिएनजी) भिड्दै छन् । यी दुई टिमबीचको खेल मध्यान्ह साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । नेपाल सिरिजको चारवटै खेल जितेर उच्च मनोबलमा छ ।
पिएनजी भने चारमध्ये एक खेल मात्र जितेर नेट रनरेटका आधारमा फाइनल प्रवेश गर्यो । उसले सिरिजमा नेपालसँगको दुई खेलमा हार बेहोर्दा चौथो खेलमा मलेसियालाई भने ८ विकेटले हरायो । पिएनजी पहिलो खेलमा मलेसियाविरुद्ध ८ रनले पराजित भएको थियो । यद्यपि उसले अन्तिम खेलमा भने मलेसियाविरुद्ध शानदार ब्याटिङ गर्यो ।
पिएनजीले आफ्नो चौथो खेलमा मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । शानदार लयमा फर्किएको पपुवा न्यूगिनी एकदिवसीयपछि त्रिकोणात्मक टी-२० श्रृंखला पनि जित्न चाहन्छ । उसले टी–२० अघि नेपालविरुद्धको दुई खेलको वानडे सिरिज क्नि स्विप गरेको थियो ।
नेपाल भने पिएनजीविरुद्ध बदला लिने योजनामा छ । नेपालले पनि जारी सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ । यही श्रृंखलाअन्तर्गत घरेलु टोलीले पिएनजीलाई ३७ र दोस्रो खेलमा १५ रनले हरायो । साथै, पछिल्लो खेलमा नेपालले मलेसियालाई ३५ रनले हराएको थियो । नेपाल फाइनलमा पनि सोही लय कायम राख्न चाहन्छ ।
कप्तान सन्दीप लामिछाने पनि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्ने लक्ष्य रहेको बताउँछन् । ‘हामीले जति परीक्षण गर्नुपर्ने हो, त्यो गरिसकेका छौँ । अब धेरै परीक्षण गर्न चाहदैनौँ । फाइनलमा हामी उत्कृष्ट ११ टिम उतार्नेछौँ,’ सन्दीपले आइतबार सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीमाझ भने ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पराजित भए पनि टी–२० शृंखलामा भने नेपालले राम्रो प्रदर्शन गरेको छ । सन्दीपले उपाधि जिते कप्तानको रूपमा भन्दा पनि टिमको सदस्यको रूपमा खुसी लाग्ने बताए । ‘म कप्तानभन्दा पहिले टिमका सदस्य हुँ । त्यसैले उपाधि जित्दा टिमको सदस्यका रूपमा म खुसी हुनेछ,’ उनले भने ।
सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने पनि बताए ।सुखद् नतिजालाई निरन्तरता दिँदै घरमै ट्रफी राख्ने आफूहरूको लक्ष्य रहेको पनि उनले सुनाए । ‘हामीले जस्तो खेल्थ्यौं । फाइनलमा पनि त्यसरी नै खेल्छौं, कुनै प्रेसर लिदैनौं, हामी हाम्रो योजनाअनुसार खेल्नेछौं,’ उनले भने ।













