फाइनलमा पनि दीपेन्द्रको अविश्वसनीय बलिङ, सन्दीपमाथि बाउ हाबी !

Image

काठमाडौं ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपाली टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले बलिङमार्फत पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो ३ ओभर सकाउँदा ९ रन दिएर महत्वपूर्ण ३ विकेट लिइसकेका छन् ।

ऐरीले कप्तान असद भाला आठ, टोनी उरा शून्य र चार्ल्स अमिनीलाई १४ रनमा आउट गरे । अघिल्लो खेलमा मलेसियाविरुद्ध पनि उनले शानदार प्रदर्शन गरेका थिए । ब्याटिङमा अविजित ११० रन बनाएको उक्त खेलमा दीपेन्द्रले बलिङमा ३ ओभरमा २४ रन दिएर २ विकेट लिएका थिए ।

सन्दीपको बलमा बाउको छक्का !

नेपाली कप्तान सन्दीप लामिछाने पहिलो ओभरमा महँगा सावित भएका छन् । नवौं ओभर बलिङ गरेका उनले २ छक्कासहित कुल १४ रन दिए । सन्दीपको यो ओभरमा सेसे बाउले लगातार २ छक्का हिर्काए ।

हालसम्म खेलिएका प्रायः खेलमा बाउमाथि उनी हाबी हुँदै गएका छन् । तर, फाइनलमा भने बाउले सन्दीपलाई दबाबमा राखेका छन् । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले यो समाचार तयार पार्दासम्म ११ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर ६१ रन बनाएको छ ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रनको आक्रामक पारी खेले ।

त्यस्तै, आसिफ शेख २९, कुशल भुर्तेल २५, मोहम्मद आदिल आलम १५, रोहित पौडेल दुई, आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । पिएनजीका सेमो कामियाले सर्वाधिक तीन विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको स्थानमा आज सोमपाल कामीले मौका पाएका छन् ।