दीपेन्द्रले गरे करियरकै उत्कृष्ट बलिङ, ह्याट्रिक लिन चुके कप्तान लामिछाने

Image

काठमाडौं ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपाली टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछाने ह्याट्रिक लिन चुकेका छन् । दीपेन्द्र पाँचौं र सन्दीप १३ औं ओभरमा ह्याट्रिक लिन चुकेका हुन् ।

ऐरीले ४.३ र ४.४ ओभरमा असद भाला (८) र टोनी उरा (०) लाई आउट गरे । उनलाई ह्याट्रिक लिने अवसर थियो । तर, ऐरीको पाँचौं बलमा सेसे बाउले चौका हिर्काए । त्यस्तै, १२.३ र १२.४ ओभरमा सन्दीपलाई पनि ह्याट्रिकको मौका थियो । तर, उनले पाँचौं बलमा विकेट लिन चुके ।

ह्याट्रिक चुके पनि दीपेन्द्रले शानदार बलिङ गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा ऐरीको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसअघि यो प्रारूपमा उनको उच्च बलिङ ४ ओभरमा २१ रन दिएर ४ विकेट लिनु थियो । ऐरीले आज भाला र उराबाहेक चार्ल्स अमिनी (१५) र चाड सोपर (१) लाई आउट गरे । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १४ ओभरमा ७ विकेट गुमाएर ९८ रन बनाएको छ ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रनको आक्रामक पारी खेले ।

त्यस्तै, आसिफ शेख २९, कुशल भुर्तेल २५, मोहम्मद आदिल आलम १५, रोहित पौडेल दुई, आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । पिएनजीका सेमो कामियाले सर्वाधिक तीन विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको स्थानमा आज सोमपाल कामीले मौका पाएका छन् ।