काठमाडौं ।
घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ । सोमबार पपुवा न्यूगिनीलाई ५० रनले हराउँदै नेपालले सिरिज जितेको हो । नेपालले पहिलोपटक पिएनजी र मलेसियाविरुद्धको सिरिज जितेको हो ।
साथै, नेपालले एकदिवसीय सिरिज गुमाएको बदला पनि टी–२० मा लिन सफल भयो । घरेलु मैदानमै भएको पिएनजीविरुद्धको वानडे सिरिज नेपालले २–० ले गुमाएको थियो ।
पिएनजीले भने आफ्नो जित यात्रा कायम राख्न सकेन । त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । उसका लागि सेसे बाउले ३८ बलमा ६ छक्का र एक चौकासहित सर्वाधिक ५९ रन बनाए ।
नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले करियरकै उच्च बलिङ प्रदर्शन गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
यसअघि यो प्रारूपमा उनको उच्च बलिङ ४ ओभरमा २१ रन दिएर ४ विकेट लिनु थियो । त्यस्तै, करण केसीले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।
उनले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रनको आक्रामक पारी खेले । त्यस्तै, आसिफ शेख २९, कुशल भुर्तेल २५, मोहम्मद आदिल आलम १५, रोहित पौडेल दुई रनमा आउट भए । आरिफ शेख र दिलिप नाथले भने खाता खोल्न सकेनन् । पिएनजीका सेमो कामियाले सर्वाधिक तीन विकेट लिए ।
सरकारले सम्मान गर्ने
मलेसिया र पिएनजीसँगको त्रिकोणात्मक सिरिज जित्ने नेपाली टिमलाई सरकारले सम्मान गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले टियू मैदानमै खेलाडीको अगाडि विजेता टिमलाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
साथै, उनले क्रिकेट पूर्वाधारमा लगानी गर्न सरकार गम्भीर रहेको पनि उल्लेख गरे । अर्थमन्त्री शर्माले विश्वकप छनोट नभएर भए भनेर निराश हुनुभन्दा त्यसबाट धेरै कुरा सिक्नुपर्ने पनिमा पनि जोड दिए ।