नेपालले टेष्ट टोली जिम्बाब्वेसँग सिरिज खेल्ने

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेष्ट टोलीजिम्बाब्वेको ‘ए’ टिमसँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले वैशाखभित्र टी–२० र एकदिवसीय प्रारूपको सिरिज खेल्ने भएको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन/तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्ने लगभग पक्का भएको हो । सिरिज नेपालमै हुने चन्दले जानकारी दिए । उनका अनुसार जिम्बाब्वेको ‘ए’ टिममा राष्ट्रिय टिमका सदस्य पनि हुनेछन् ।

‘हामीहरूले बढी जोड एकदिवसीयका लागि गरेका थियौं । तर, जिम्बाब्वेले विश्वकप छनोट खेल्ने भएकाले त्यसको तयारी स्वरूप टी–२० श्रृंखला खेल्नका लागि ‘ए’ टिम पठाउने कुरा गरेको छ । सिरिज तीन सातापछि हुनेछ,’ चन्दले भने ।

नेपालले जित्यो त्रिकोणात्मक सिरिज

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ । सोमबार पपुवा न्यूगिनीलाई ५० रनले हराउँदै नेपालले सिरिज जितेको हो । नेपालले पहिलोपटक पिएनजी र मलेसियाविरुद्धको सिरिज जितेको हो ।

साथै, नेपालले एकदिवसीय सिरिज गुमाएको बदला पनि टी–२० मा लिन सफल भयो । घरेलु मैदानमै भएको पिएनजीविरुद्धको वानडे सिरिज नेपालले २–० ले गुमाएको थियो ।

पिएनजीले भने आफ्नो जित यात्रा कायम राख्न सकेन । त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । उसका लागि सेसे बाउले ३८ बलमा ६ छक्का र एक चौकासहित सर्वाधिक ५९ रन बनाए ।

नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले करियरकै उच्च बलिङ प्रदर्शन गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसअघि यो प्रारूपमा उनको उच्च बलिङ ४ ओभरमा २१ रन दिएर ४ विकेट लिनु थियो । त्यस्तै, करण केसीले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।

उनले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रनको आक्रामक पारी खेले । त्यस्तै, आसिफ शेख २९, कुशल भुर्तेल २५, मोहम्मद आदिल आलम १५, रोहित पौडेल दुई रनमा आउट भए । आरिफ शेख र दिलिप नाथले भने खाता खोल्न सकेनन् । पिएनजीका सेमो कामियाले सर्वाधिक तीन विकेट लिए ।