Khabar Board

ब्लु स्टारविरुद्ध मछिन्द्रलाई भाग्यले दिएन साथ, अधुरै रह्यो भारतीय क्लबविरुद्ध खेल्ने सपना

काठमाडौं ।

एएफसी कप छनोट २०२२ अन्तर्गत पहिलो चरणको खेलमा ‘ए’ डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लब पराजित भएको छ । मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा ऊ श्रीलंकन क्लब ब्लु स्टारसँग २-१ ले पराजित हुन पुगेको हो ।

यो पराजयसँगै मछिन्द्र छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । खेलको २४ औं मिनेटमा मोहम्मद इशानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाए । २७ औं मिनेटमा सेनल सन्देशले पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

थप गरिएको समयमा सुजल श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काउने प्रयास गरे । उनले हेडरमार्फत सुन्दर गोल गरेका हुन् । त्यसअघि १५ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई अर्पाडे ओमबेबेले सदुपयोग गर्न नसक्दा ब्लुस्टार अग्रता लिन चुकेको थियो ।

देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले श्रीलंकालाई पेनाल्टी प्रदान गरेका थिए । अर्पाडेको पेनाल्टी प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए ।

खेल अवधिभर मछिन्द्रले पनि पटकपटक गोलको अवसर भने पायो । तर, ऊ आज अभागी बन्यो । यदि आज जित निकाल्न सकेको भए मछिन्द्रले भारतको मोहन बगानसँग प्रतिस्पर्धा गर्न पाउँथ्यो । तर, उसको सपना अधुरै रह्यो । अब ब्लु स्टारले दोस्रो चरणअन्तर्गत १२ अप्रिलमा मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.