लण्डन ।
बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एकजना नेपालीले प्रशिक्षकको रूपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल यू–११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो ।
डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्याङकिङमा रहेको छ । नेपालमा कैलालीको टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिमअन्तर्गत टप अर्डरको ब्याटरको रूपमा खेल्दै आएका छन् ।
उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेका थिए । उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट क्लबबाट डिभिजन वान खेलमा लिगतर्फको पहिलो टाइटल हात पारेका थिए । रावलले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएका थिए । –न्युज कारखानाबाट