पाकिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित, फिन्च र एलिसको उत्कृष्ट प्रदर्शन

Image

काठमाडौं ।

पाकिस्तानसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय खेलमा पाहुना टोली अस्ट्रेलिया ३ विकेटले विजयी भएको छ ।
१६३ रनको लक्ष्य अस्ट्रेलियाले १९.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसका लागि कप्तान आरोन फिन्चले ४५ बलमा ६ चौकासहित सर्वाधिक ५५ रन बनाए । ट्रभिस हेडले २६, जोश इंग्लिसले २४ रन, मार्कस स्टोइनिसले २३ र बेन म्याक्डरमोटले अविजित २२ रनको योगदान दिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी, उस्मान कादिर र मोहम्मद वासिम जुनियरले दुई/दुई तथा हरिस रौफले एक विकेट लिए । त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।

उसका कप्तान बाबर आजमले ४६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । मोहम्मद रिजवान २३, खुसदील शाह २४, उस्मान कादिरले अविजित १८ र इफ्तिखार अहमदले १३ रन बनाए । अस्ट्रेलियाका लागि नाथन एलिसले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २८ रन दिएर सर्वाधिक चार विकेट लिए ।

डेब्यु खेल खेलेका क्यामरोन ग्रीनले दुई, सेन एबोट र एडम जाम्पाले एक/एक विकेट हात पारे । योसँगै अस्ट्रेलियाको पाकिस्तान भ्रमण पनि सकिएको छ । तीन खेलको टेस्ट सिरिज अस्ट्रेलियाले १–० आफ्नो पक्षमा पारेको थियो । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज भने पाकिस्तानले २–१ ले जित्यो ।