काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक रन अर्थात् ओरेन्ज क्याप दौडकाे शीर्ष स्थानमा राजस्थान रोयल्सका जोस बटलर उक्लिएका छन् । गएराति सम्पन्न रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्धको खेलमा अविजित ७७ रन बनाएसँगै उनी शीर्षमा उक्लिएका हुन् ।
बटलरले तीन खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा १४३.३५ को स्ट्राइक रेटमा २०५ रन बनाएका छन् । त्यस्तै, यो सूचीको दोस्रो स्थानमा मुम्बई इण्डियन्सका इशान किशनको नाम आउँछ । उनले २ खेलमा १४८.३५ को स्ट्राइक रेटमा २ अर्धशतकसहित १३५ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का कप्तान फाफ डुप्लेसिस छन् । उनले तीन खेलका एक अर्धशतकको सहयोगमा १५०.६१ को स्ट्राइक रेटमा १२२ रन बनाएका छन् । यो सूचीको चौथो स्थानमा पञ्जाब किंग्सका दीपक हूडा रहेका छन् । उनले तीन खेलमा १४५.१२ को स्ट्राइक रेटमा दुई अर्धशतकको सहयोगमा ११९ रन बनाएका छन् ।
ओरेन्ज क्याप दौडको पाँचौँ स्थानमा लखनउ सुपर जायन्ट्सका शिवम दुवे रहेका छन् । उनले ३ खेलमा एक अर्धशतकसहित १०९ रन बनाएका छन् । यो सूचीको छैटौँ स्थानमा राजस्थान रोयल्सका शिमरोन हेटमायर रहेका छन् । उनले पनि ३ खेलमा १०९ रन बनाएका छन् ।
त्यस्तै, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः केएल राहुल (१०८), लियाम लिभिङस्टोन (९८), आन्द्रे रसेल (९५) र सञ्जु सामसन (९३ रन) रहेका छन् ।
यो पनि पढौं– यी हुन् तीन महिना डेब्यू गर्ने ८ नेपाली खेलाडी, को कति सफल?