काठमाडौं ।
भारतमा अहिले १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ देखि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा सुरु हुँदैछ ।
आजको खेलमा केकेआर र मुम्बईले २/२ खेलाडी परिवर्तन गरेको छ । आज मुम्बईले टिम डेविड र अनमाेलप्रित सिंहलाई विश्राम दिएर सूर्यकुमार यादव र डेवाल्ड ब्रेभिसलाई मौका दिएको छ । दक्षिण अफ्रिकाका युवा खेलाडी ब्रेभिसको यो डेब्यू म्याच हो ।
यू–१९ एकदिवसीय विश्वकपमा शानदार प्रदर्शन गरेपछि उनलाई मुम्बईले अक्सनबाट ३ करोड भारुमा अनुबन्ध गरेको थियो । ‘बेबी एबी डिभिलियर्स’को नामले परिचित डेवाल्डले २०२२ को यू–१९ विश्वकपमा सर्वाधिक ५०६ रन बनाएका थिए । उनी डिभिलियर्सको शैलीमा ब्याटिङ गर्छन् ।
त्यस्तै, केकेआरले पनि प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले शिवम् मावी र टिम साउथीलाई आराम दिएर प्याट कमिन्स र रसिक सलामलाई मौका दिएको छ । रसिकको यो डेब्यू म्याच हो ।

जारी लिगमा केकेआरले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हार बेहोरेको छ । मुम्बईले भने २ म्याच खेल्दा दुवैमा हारको सामना गरेको छ । हालसम्म केकेआरले दुई र मुम्बईले सर्वाधिक ५ पटक आईपीएल उपाधि जितेका छन् ।
मुम्बईको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, किरोन पोलार्ड, डेवाल्ड ब्रेभिस, डानियल साम्स, मुर्गन आश्विन, टिमल मिल्स, बासिल थम्पी र जसप्रित बुमराह ।
कोलकाताको प्लेइङ–११ : अजिंक्य रहाणे, वैंकटेस अय्यर, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स (विकेटकिपर), आन्द्रे रसेल, सुनिल नारायण, प्याट कमिन्स, उमेश यादव, वरुण चक्रवर्ती र रसिक सलाम ।
