मुम्बईले दियो केकेआरलाई चुनौतीपूर्ण लक्ष्य, पोलार्डको उत्कृष्ट फिनिसिङ

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई १६२ रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनायो ।

उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाए । अघिल्लो दुई खेलमा विश्राम पाएका सूर्यले सिजनको पहिलो खेलमै शानदार प्रदर्शन गरे ।

कस्तो रह्यो ‘बेबी एबी’को डेब्यू?

‘बेबी एबी डिभिलियर्स’को नामले चर्चित डेवाल्ड ब्रेभिसले पहिलो खेलमै प्रभावित पार्ने पारी खेले । तेस्रो नम्बरमा ब्याटिङमा आएको उनले आक्रामक तरिकाले सुरुवात गरे । डेवाल्डले दोस्रो बलको सामना गर्दै ३.१ ओभरमा आजै डेब्यू गरेका रसिक सलामको बलमा चौका हिर्काए ।

उनले ३.४ ओभरमा लयमा देशका उमेश यादवको बलमा उत्कृष्ट चौका प्रहार गरे । डेवाल्डले ५.६ ओभरमा विश्वका स्टार बलर प्याट कमिन्सको बलमा शानदार छक्का हिर्काए । त्यस्तै, उनले ७.१ ओभरमा वरुण चक्रवर्तीको बलमा छक्का हिर्काउँदै समर्थकमा उत्सा थपे । तर, डेवाल्ड यही ओभरमा साम बिलिङसबाट पाँचौं बलमा स्टम्पिङ आउट भए ।

शर्मा फेल वर्मा पास !

आजको खेलमा पनि कप्तान रोहित शर्माले निराश बनाए । ‘हिटम्यान’को परिचय बनाएका उनी आज भने फिट भएनन् । रोहितले १२ बलको सामना गर्दा ३ रन मात्र जोड्न सके । उनी अघिल्लो दुई खेलमा क्रमशः ४१ र १० रन बनाएका थिए ।

मुम्बईका युवा ब्याटर तिलक वर्माले भने आज पनि राम्रो पारी खेले । उनले केकेआरविरुद्ध २७ बलमा तीन चौका र दुई छक्कासहित अविजित ३८ रनको योगदान दिए । तिलकले पहिलोमा २२ र दोस्रो खेलमा ३३ बलमा ६१ रनको आक्रामक पारी खेलेका थिए ।

इशान पनि फेल

केकेआरका बलरसामु युवा आक्रामक ब्याटर इशान किशन पनि पास हुन सकेनन् । उनले २१ बलमा एक चौकाको सहयोगमा केवल १४ रन मात्र जोड्न सके । इशानले अघिल्लो खेलमा दिल्लीविरुद्ध अविजित ८१ र राजस्थानविरुद्ध ५४ रन बनाएका थिए ।

पोलार्डको उत्कृष्ट फिनिसिङ

विश्व क्रिकेटका आक्रामक ब्याटर किरण पोलार्डले आज भने आफ्नो पावर देखाए । अघिल्लो खेलमा निकै निराश बनाएका उनले केकेआरविरुद्ध ५ बलमा ३ छक्कासहित अविजित २२ रनको आक्रामक पारी खेले ।

पोलार्डले अन्तिम ओभरमा प्याट कमिन्सको बलमा ३ छक्कासहित २३ रन बनाए । अघिल्लो दुई खेलमा उनी क्रमशः ३ र २२ रनमा आउट भएका थिए । केकेआरका लागि प्याट कमिन्सले दुई, वरुण चक्रवर्ती र उमेश यादवले एक/एक विकेट लिए ।

जारी लिगमा केकेआरले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हार बेहोरेको छ । मुम्बईले भने २ म्याच खेल्दा दुवैमा हारको सामना गरेको छ । हालसम्म केकेआरले दुई र मुम्बईले सर्वाधिक ५ पटक आईपीएल उपाधि जितेका छन् ।

मुम्बईको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, किरोन पोलार्ड, डेवाल्ड ब्रेभिस, डानियल साम्स, मुर्गन आश्विन, टिमल मिल्स, बासिल थम्पी र जसप्रित बुमराह ।

कोलकाताको प्लेइङ–११ : अजिंक्य रहाणे, वैंकटेस अय्यर, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स (विकेटकिपर), आन्द्रे रसेल, सुनिल नारायण, प्याट कमिन्स, उमेश यादव, वरुण चक्रवर्ती र रसिक सलाम ।