काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिआर डिवाइ पाटिलमा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनायो ।
उसका लागि पृथ्वी शाले शानदार प्रदर्शन गरे । उनले ३४ बलमा नौ चौका र दुई छक्कासहित ६१ रनको पारी खेले । आईपीएलमा पृथ्वीको यो ११ औं अर्धशतक हो । योसँगै उनले आईपीएलमा १ हजार ४१४ रन पनि पूरा गरेका छन् ।
कप्तान ऋषभ पन्त ३९ र सरफराज खान ३६ रनमा अविजित रहे । दिल्लीले सुरुवात आक्रामक गर्यो । तर, उसको मध्यक्रम र फिनिसिङ कमजोर भयो । दिल्लीले सुरुवाती ७ ओभरमा बिनाविकेट ५७ रन बनाएकाे थियाे । तर, उसले अन्तिम ३ ओभरमा १९ रन मात्र बनाउन सक्यो । लखनउका लागि रवि विश्नोई दुई र कृष्णप्पा गौतमले एक विकेट लिए ।
वार्नर र पावेलले निराश बनाए
आक्रामक ब्याटरको परिचय बनाएका अष्ट्रेलियन स्टार ब्याटर डेविड वार्नरले आज आईपीएल २०२२ मा पहिलो म्याच खेले । तर, उनले सुरुवातमा भने राम्रो संकेत देखाउन सकेनन् । वार्नरले पहिलो खेलमा १२ बलमा केवल ४ रन मात्र जोड्न सके ।
वेष्ट इण्डिजका रोभम्यान पावेल पनि आक्रामक ब्याटर हुन् । तर, उनले आज पनि गतिलो प्रदर्शन गर्न सकेनन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका पावेलले १० मात्र ३ रन बनाउन सके । दोस्रो खेलमा २० रन बनाएका उनले पहिलो म्याचमा खाता खोल्न सकेका थिएनन् । पावेलले ३ खेलमा २३ रन मात्र बनाउन सकेका छन् ।
जारी सिजनमा दिल्लीले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । उसले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई हरायो । तर, दोस्रो खेलमा दिल्ली गुजरातसँग पराजित हुन पुग्यो । लखनउले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।