दिल्लीमाथि लखनउको शानदार जित, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध लखनउ सुपर जायन्ट्स ६ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि क्विन्टन डी ककले ५२ बलमा नौ चौका र दुई छक्कासहित ८० रन बनाए । त्यस्तै, कप्तान केएल राहुलले २४, कृणाल पाण्ड्याले १९, आयुष बदोनीले अविजित १० र दीपक हूडाले ११ रनको योगदान दिए । दिल्लीका लागि कुलदीप यादवले दुई, शार्दुल ठाकुर र ललित यादवले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि पृथ्वी शाले आक्रामक पारी खेले । उनले ३४ बलमा नौ चौका र दुई छक्कासहित ६१ रन बनाए ।

कप्तान ऋषभ पन्त ३९ र सरफराज खान ३६ रनमा अविजित रहे । लखनउका लागि रवि विश्नोई दुई र कृष्णप्पा गौतमले एक विकेट लिए । यो जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । ऊ पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो ।

दिल्लीको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा मुम्बईलाई चार विकेटले हराएको थियो । तर, दोस्रो खेलमा दिल्ली गुजरात टाइटन्सविरुद्ध १४ रनले पराजित हुन पुग्यो । दिल्ली सातौँ स्थानमा छ । त्यस्तै, अंक तालिकाको शीर्षमा कोलकाता, तेस्रोमा राजस्थान, चौथोमा गुजरात, पाँचौँमा पञ्जाब, छैटौँमा बैंग्लोर, आठौँमा चेन्नई, नवौँमा मुम्बई र दशौँ स्थानमा हैदराबाद रहेका छन् ।