तेवटियाको लगातार २ छक्कामा गुजतरात विजयी, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले लगातार तेस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै पञ्जाबले लगातार तेस्रो जित हात पारेको हो ।

आफ्नो तेस्रो खेलमा १९० रनको लक्ष्य गुजरातले अन्तिम बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि शुभमन गिलले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलमा ११ चौका र एक छक्कासहित ९६ रन बनाए । शाई सुधर्शनले ३५ र कप्तान हार्दिक पाण्ड्याले २७ रनको योगदान दिए ।

राहुल तेवटिया १३ र डेविड मिलर ६ रनमा अविजित रहे । रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा गुजरातलाई जितको लागि १९ रन आवश्यक थियो । ओभरको पहिलो बलमा हार्दिक आउट भएपछि टेवटिया क्रिजमा आए । दोस्रो बलमा उनले एक रन जोडे । तेस्रो बलमा मिलरले चौका प्रहार गरे । चौथो बलमा एक रन जोडेपछि गुजरातलाई दुई बलमा १२ रन आवश्यक भयो ।

स्ट्राइकमा रहेका राहुलले पाँचौं र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई रोमाञ्चक जित दिलाए । अन्तिम ओभरमा ओडेन स्मिथले बलिङ गरेका थिए । पञ्जाबका कागिसो रबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए ।

पञ्जाबलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो । उसका लागि लियाम लिभिङस्टोनले आक्रामक पारी खेले । उनले २७ बलमा चार छक्का र सात चौकासहित ६४ रन बनाए ।

उनले शिखर धवनसँग ३२ बलमा ५२ रनको साझेदारी गरे । धवन ३५ रनमा आउट भए पनि लिभिङस्टोन र जितेश शर्माबीच १८ बलमा ३८ रनको साझेदारी भयो । तर, सबैले आक्रामक शैलीमा ब्याटिङ गर्न खोज्दा एकपछि अर्को विकेट पतन हुन पुग्यो ।

जितेशले ११ बलमा २३ रन बनाए । उनी आउट भएपछि ओडेन स्मिथले पहिलो बलमै छक्का हान्न खोजे । तर, उनी शून्यमै पबेलियन फर्किए । अर्शदीप सिंह र राहुल चाहरले भने उत्कृष्ट फिनिसिङ गरे । उनीहरूबीच दशौँ विकेटका लागि १३ बलमा अविजित २७ रनको साभेदारी बन्यो । जसमा चाहरले १३ बलमा १७ र सिंहले ५ बलमा अविजित १० रन जोडे ।

शाहरुख खान १५, जोनी बेयरिस्टो आठ, कप्तान मयंक अग्रवाल पाँच र कागिसो रबाडा एक रनमा आउट भए । गुजरातका लागि राशिद खानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

दर्शन नलकाण्डेले दुई, मोहम्मद शामी, हार्दिक पाण्ड्या र लकी फर्गुसनले एक/एक विकेट हात पारे । यो जितसँगै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब छैटौँ स्थानमा छ । त्यस्तै, कोलकाता शीर्ष, लखनउ तेस्रो, राजस्थान चौथो, बैंग्लोर पाँचौँ, दिल्ली सातौँ, चेन्नई आठौँ, मुम्बई नवौँ र हैदराबाद दशौँ स्थानमा छन् ।