Khabar Board

मुम्बईमाथि बैंग्लोरको फराकिलो जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंग्लोरले लगातार तेस्रो म्याच जितेको हो । आफ्नो चौथो खेलमा मुम्बईले दिएको १५२ रनको लक्ष्य बैंग्लोरले १८.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर अनुज रावतले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा ६ छक्का र २ चौकासहित ६६ रन बनाए । त्यस्तै, विराट कोहलीले ४८, कप्तान फाफ डुप्लेसिसले १६, ग्लेन म्याक्सवेलले आठ र दिनेश कार्तिकले अविजित सात रनको योगदान दिए ।

मुम्बईका लागि ‘बेबी एबी’ नामले परिचित डेवाल्ड ब्रेभिसले विराट कोहलीको विकेट लिए । उनले आफ्नो पहिलो ओभरको तेस्रो बलमा विराटलाई एल्बीडब्लू आउट गरेका हुन् । ब्रेभिसको यो दोस्रो खेल हो । त्यस्तै, जयदेव उनादकटले एक विकेट हात पारे ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो । उसका लागि सूर्यकुमार यादवले ३७ बलमा ६ छक्का र पाँच चौकासहित अविजित ६८, रोहित शर्मा र इशान किसनले २६/२६ र जयदेव उनादकटले अविजित १३ रनको योगदान दिए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बैंग्लोरका वानिन्दु हसरंगा, हर्षल पटेलले दुई/दुई र आकाश दीपले एक विकेट लिए । यो जितसँगै बैंग्लोर तेस्रो स्थानमा उक्लिएको छ । अंकविहीन मुम्बई भने तालिकाको नवौँ स्थानमा छ ।

त्यस्तै, कोलकाता, गुजरात, लखनउ, राजस्थान, पञ्जाब, दिल्ली, हैदराबाद र चेन्नई क्रमशः पहिलो, दोस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ र दशौँ स्थानमा छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.