काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गर्दा घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को जित निकालेको हो ।
पिएसजीको जितमा नेयमार र एमबाप्पेले ३–३ गोल गरे । नेयमारले ६, ७१ र ८३ मिनेटमा गोल गरेका थिए । एम्बाप्पेले १७, ७४ र ८० मिनेट ह्याट्रिक पूरा गरे । घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए ।
गोलविहीन रहेका मेस्सीले ह्याट्रिक असिस्ट भने गरे । उनले एमबाप्पेलाई दुई असिस्ट दिए भने नेयमारलाई एक अन्तिम पास उपलब्ध गराएका थिए ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।
प्रिमियर लिगमा चेल्सी र टोटनहमको शानदार जित, युनाइटेड र आर्सनल स्तब्ध
इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडविरुद्ध एभर्टन १-० ले विजयी भएको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन एन्थोनी गार्डेनले २७ औं मिनेटमा गोल गरे । उनकै निर्णायक गोलमा एभर्टन विजयी भयो ।
प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थान मात्र माथि रहेको एभर्टनले जितसँगै १८ औं स्थानको बर्न्लीसँगको अंक दूरी चार अंक पुर्याएको छ ।
यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहमभन्दा ६ अंक कम हो ।
आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याट्रिक गरे । यस्तै,डेजान कुलुसेभस्कीले एक गोल गरे ।
जितसंगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ । अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे ।
जितसँगै चेल्सी ३० खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।