काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध पपुवा न्यूगिनी (पिएनजी) १६२ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २८५ रनको लक्ष्य पछ्याएको पिएनजीले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो ।
उसका लागि सेसे बाउले सर्वाधिक २९ रन बनाए । त्यस्तै, नोर्मन भानुआले १९, लेगा सियाका, चाड सोपरले १३/१३ कप्तान असद भालाले १० र साइमन अताइले अविजित ११ रनको योगदान दिए । स्कटल्याण्डका गेभिन म्यानले चार, हम्जा ताहिरले दुई र बाँकी चार बलरले एक/एक विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर २८४ रन बनायो । उसका लागि रिची बेरिङ्टनले शतकीय पारी खेले । उनले १२७ बलमा १० चौका र दुई छक्काको सहयोगमा अविजित ११४ रन बनाए ।
त्यस्तै, जर्ज मुन्सेले ६२ बलमा ६ चौका र चार छक्काको सहयोगमा नटआउट ७९ रनको पारी खेले । कलुम म्याक्लोइड ३२, म्याथ्यू क्रस २१ र कप्तान कायल कोएट्र १३ रनमा आउट भए । पिएनजीका रिली हेकुरे, सेमो कामिया र चाड सोपरले एक/एक विकेट लिए ।
यो जितसँगै स्कटल्याण्ड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले १३ मध्ये आठमा जित र तीन खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले दुई खेल भने अंक बाँडेको छ ।
पिएनजी भने १७ म्याच खेल्दा एक खेलमा जित हात पारेको छ । ऊ २ अंकका साथ तालिकाको पुछारमा छ । सात टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा हालसम्म नेपालले १२ म्याच खेलेको छ । जसमध्ये ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।
त्यस्तै, तालिकाको शीर्षमा ओमान, दोस्रोमा अमेरिका, चौथोमा नामिबिया र पाँचौँमा यूएई रहेका छन् । अंक तालिकाको शीर्ष–२ मा रहने टिम आउँदो एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन् ।