काठमाडौं ।
भारतमा जारी १५ औँ आइपिएलमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध गुजरात टाइटन्स ८ विकेटले पराजित भयो । लगातार तीन खेल जितेको गुजरातको टोलीले जारी सिजनमा हारेको यो पहिलो खेल हो । खेलको क्रममा गुजरातका कप्तान हार्दिक पाण्ड्या केही निराश र आक्रोशित देखिन्थे ।
बलिङ गर्ने क्रममा हार्दिकले आफ्नो रिस अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीमाथि निकाले । उनी १३ औं ओभरमा बलिङ गरिरहेका बेला शामीसँग रिसाएका हुन् । इनिङ्सको १३ औं ओभरको अन्तिम बलमा राहुल त्रिपाठीले हार्दिक पाण्ड्याको बल थर्ड म्यानतर्फ खेले । जहाँ उभिरहेका शामीले बललाई क्याच गरे । तर, टाइट फिल्डरजस्तै छिट्टै आउन सकेनन् । र, उनले थ्रो गरे ।
त्यसपछि हार्दिक शामीदेखि रिसाए । उनले गालीगलौज पनि गरेका थिए । शामीलाई हार्दिकले गरेको गालीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समर्थकले शमीलाई समर्थन गर्दै हार्दिकको आलोचना गरेका छन् । भारतीय अनुभवी र सफल बल शामीलाई गाली गरेर यसरी अपमानित गर्नु ठीक नभएको भन्दै प्रशंसकले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
हारपछि के भन्छन् हार्दिक?
जारी सिजनको पहिलो हारपछि टिमका कप्तान हार्दिक पाण्ड्याले प्रतिक्रिया दिएका छन् । उनले सात देखि १० रन नबाउन चुक्दा हार बेहोर्न पुगेको बताए । ‘हामी सात देखि १० रन बनाउन चुक्यौं । हैदराबादले राम्रो बलिङ गर्यो । र, ऊ आफ्नो योजनामा अडिग रह्यो । हामीले हाम्रा गल्तीहरूबाट पाठ सिक्नु आवश्यक छ, हामीसँग कुराकानी र मजाक हुनेछ किनभने हाम्रो अर्को खेल दुई दिन पछि छ ।’