चेन्नई सुपर किंग्सलाई ठूलो झड्का, आईपीएलबाट बाहिरिए महत्वपूर्ण खेलाडी

Image

काठमाडौं ।

आइपिएल २०२२ मा लगातार हारको सामना गरिरहेको चेन्नई सुपर किंग्सको टोली (सीएसके) लाई अर्को ठूलो झड्का लागेको छ । टोलीका प्रमुख तीव्र गतिका बलर दीपक चाहरले जारी सिजनको सबै खेल गुमाउने भएपछि चेन्नईलाई झड्का लागेको हो । पुरानो चोट बल्झिएपछि चाहरले अब सिजन अवधिभर आईपीएलबाट बाहिरिएका छन् ।

इनसाइडस्पोर्टका अनुसार चाहर हाल एनसीएमा रहेका छन् । र, उनले आफ्नो फिटनेसमा काम गरिरहेका छन् । यसै क्रममा उनको ढाडको पुरानो चोट फेरि देखा परेको खबर आएको बताइएको छ । चाहर यसै सातासम्म चेन्नईको टोलीमा आउने अपेक्षा थियो । तर, अहिले उनी नयाँ चोटका कारण पूरै आईपीएलबाट बाहिरिएका छन् ।

सिएसकेको व्यवस्थापनले भनेको छ, ‘हामीलाई यो ढाडको चोटबारे थाहा थिएन । उनी फिट हुन निकै मिहिनेत गरिरहेका थिए । तर, अहिले उनी फेरि अर्को समस्यामा परेका छन् ।’ उनलाई चेन्नईले अक्सनबाट १४ करोड भारुमा खरिद गरेको थियो ।
उनको आधार मूल्य २ करोड थियो । चाहर वेस्ट इन्डिजविरुद्धको शृङ्खलाका क्रममा घाइते भएका थिए । चोटका कारण उनी श्रीलंका सिरिजबाट नै बाहिरिएका थिए ।