Khabar Board

४०८ रन बनेको खेलमा चेन्नइले बैंग्लोरलाई हरायो

काठमाडौं ।

भारतमा जारी १५ औँ इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग् (सिएसके) ले पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित दर्ता गरेको हो । चेन्नईले लगातार चार हारपछि पहिलो जित हात पार्न सफल भयो ।

आरसिबीको यो दोस्रो हार हो । उसले पाँच म्याच खेल्दा तीन खेलमा भने जित हात पारेको छ । आफ्नो पाँचौं खेलमा चेन्नईले दिएको २१६ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो ।

उसका लागि शहबाज अहमदले ४१, दिनेश कार्तिक, सुयश प्रभुदेसाईले ३४–३४, ग्लेन म्याक्सवेलले २६, मोहम्मद सिराजले अविजित १४ र अनुज रावतले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

चेन्नईका लागि महेश थिक्क्षणाले चार, रवीन्द्र जडेजाले तीन, ड्वेन ब्रावो र मुकेश चौधरीले एक–एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो ।

उसका लागि रोबिन उथप्पा र शिवम् दुबेले शानदार ब्याटिङ गरे । दुबेले ४६ बलमा आठ छक्का र पाँच चौकाको सहयोगमा अविजित ९५ रनको योगदान दिए । त्यस्तै, उथप्पाले ५० बलमा नौ छक्का र चार चौकासहित ८९ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७५ बलमा १६५ रन बनाए ।

ऋतुराज गायकवाड १७ र मोइन अली तीन रनमा आउट भए । बैंग्लोरका लागि वानिन्दु हसरंगाले दुई र जोस हेजलउडले एक विकेट लिए । यो जितसँगै चेन्नईले २ अंक जोडेको छ । ऊ अंक तालिकाको नवौँ स्थानमा छ । बैंग्लोर ६ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ ।

बैंग्लोर र चेन्नईको खेलमा कूल ४०८ रन बन्यो । त्यस्तै, दुबै टिमले कूल २४ छक्का र २९ चौका प्रहार गरे ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.