पिएनजीमाथि ओमानको फराकिलो जित, जतिन्दर सिंहको शानदार शतक

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले पपुवा न्यूगिनी (पिएनजी) लाई ७ विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा पिएनजीले दिएको २२५ रनको लक्ष्य ओमानले ४४.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर जतिन्दर सिंहले शतकीय पारी खेले । उनले ११६ बलमा १३ चौकासहित अविजित ११८ रन बनाए । एकदिवसीयमा जतिन्दरको यो तेस्रो शतक हो । साथै, यो प्रारूपमा उनको यो उच्च पारी पनि हो ।

त्यस्तै, आवर अलीले ९९ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ५७ रन बनाए । सस्तैमा तीन विकेट गुमाएको ओमानका लागि जतिन्दर र खावरबीच चौथो विकेटका लागि १७४ रनको विशाल साझेदारी बन्यो ।

ओमानले ओपनर कश्य प्रजापतिलाई दुई, तेस्रो नम्बरमा ब्याटिङ गरेका सोयब खानलाई एक रनमै गुमाएको थियो । अयान खानले ३९ बलमा चार चौकासहित २५ रन जोडे । पिएनजीका लागि सेमो कामियाले दुई र नोर्मन भानुआले एक विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२४ रन बनायो । उसका लागि चाल्स अमिनीले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकासहित ५९ रन बनाए ।

लेगा सियाकाले ३०, रिले हेकुरले २६, कप्तान असद भालाले २१, नोर्मन भानुआ, चाड सोपरले अविजित १९र१९, सेसे बाउले १४ र टोनी उराले १३ रनको योगदान दिए । ओमानका लागि बिलाल खानले तीन, फयाज बट, नेस्टर धम्बाले दुईरदुई, खावर अली र कलिमुल्लाहले एक/एक विकेट लिए ।

विश्वकप लिग–२ मा ओमानको यो १८ औं जित हो । ३० म्याच खेल्दा उसले १० खेलमा मात्र मात्र हार बेहोरेको छ । ओमानले दुई खेलमा भने अंक बाँडेको छ । ऊ ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

पिएनजीको यो १७ औं हार हो । उसले १८ म्याच खेल्दा एक खेलमा मात्र जित प्राप्त गरेको छ । पिएनजी २ अंकका साथ पुछारमा छ । नेपाल १२ अंकका साथ छैटौँ स्थानमा छ । नेपालले १२ म्याच खेल्दा ६ मा जित र ६ खेलमा हार बेहोरेको छ ।