काठमाडौं ।
एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
वरीयताको १८ औं स्थानमा रहेको नेपालले १८ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । नेपालले मार्च महिनामा ६ एकदिवसीय खेल खेलेको थियो । जसमा नेपालले २ मा जित निकाल्दा ४ खेलमा पराजित भएको थियो ।
नेपालले गत महिना दुबईमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा पपुवा न्युगिनी (पिएनजी) लाई २ खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग २ खेलमा पराजित भएको थियो ।
नेपालले आफ्नो घरेलु मैदानमा पिएनजीसँग २ खेलको सिरिजमा दुवै खेल गुमाएको थियो ।
वरीयताको शीर्ष स्थानमा १२२ रेटिङ प्वाइन्टका साथ न्युजिल्यान्ड छ । दोस्रो स्थानको इंग्ल्याण्डले ११९ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इण्डिज र अफगानिस्तान क्रमशः तेस्रो देखि १० औं स्थानमा छन् ।











