मुम्बईलाई दोहोरो झड्का, रोहितसहित टिममाथि लाखौं जरिवाना

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको खराब प्रदर्शनको श्रृंखला जारी छ । बुधबार भएको खेलमा पञ्जाब किंग्ससँग पनि मुम्बईले हार बेहोर्यो । यो सिजन टोलीको यो पाँचौं हार हो ।

पञ्जाबविरुद्ध मुम्बईले हार मात्र ब्यहोरेन, उसले ठूलो कारबाही पनि भोग्नु परेको छ । मुम्बईलाई स्लो ओभर रेटका कारण ठूलो जरिवाना गरिएको हो । प्रतियोगितामा मुम्बई स्लो ओभर रेटमा दोषी ठहर भएको यो दोस्रोपटक हो ।

यसअघि पनि टोलीले एकपटक यस्तो गल्ती गरिसकेको छ । जसकारण यस पटक कप्तान रोहित शर्मालाई २४ लाख भारु र प्लेइङ–११ मा रहेका अन्य सदस्यलाई जनही ६ लाख भारु र म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

यसअघि २७ मार्चमा दिल्ली क्यापिटल्ससँगको खेलपछि पनि स्लो ओभर रेटका कारण रोहितलाई कारबाही गरिएको थियो । मुम्बईको टोलीले निर्धारित समयमा बलिङ पूरा गर्न सकेको थिएन ।

‘बेबी एबी’को छक्काको वर्षाका बाबजुद मुम्बई पराजित

आफ्नो पाँचौं खेलमा पञ्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो । उसका लागि डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव र तिलक वर्माले उत्कृष्ट पारीका बाबजुद मुम्बई जित निकाल्न भने चुक्यो ।

ब्रेभिसले २५ बलमा पाँच छक्का र चार चौकासहित ४९ रनको आक्रामक पारी खेले । उनले नवौं ओभरमा राहुल चाहरविरुद्ध लगातार चार छक्का र एक चौका हिर्काए । बेबी एबी डिभिलियर्सको नामले परिचित ब्रेभिसले यो ओभरमा एक्लैले २८ रन जोडे ।

पहिलो बलमा तिलकले एक रन लिए । दोस्रो बलमा ब्रेभिसले चौका हिर्काए । त्यसपछि उनले लगातार चार छक्का प्रहार गरे । ब्रेभिसले सुरुवाती ८ बल खेल्दा खाता खोल्न सकेका थिएनन् । त्यस्तै, सूर्यकुमारले ३० बलमा चार छक्का र एक चौकाको सहयोगमा ४३ रन बनाए । २० बलमा तीन चौका र दुई छक्का हिर्काएका तिलक ३६ रनमा आउट भए ।

रोहित शर्माले १७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा २८ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । पञ्जाबका लागि ओडेन स्मिथले चार, कागिसो रबाडाले दुई र वैभव अरोराले एक विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एशोसियसनको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो । उसका लागि शिखर धवन र कप्तान मयंक अग्रवालले अर्धशतकीय पारी खेले ।

धवनले ५० बलमा पाँच चौका र तीन छक्कासहित ७० रन बनाए । मयंकले ३२ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रनको योगदान दिए । जितेश शर्माले १५ बलमा दुई चौका र दुई छक्कासहित अविजित ३० रनको आक्रामक पारी खेले । शाहरुख खान १५, जोनि बेयरिस्टो १२ र लियाम लिभिङस्टोन दुई रनमा आउट भए ।

मुम्बईका बसिल थम्पीले दुई, जसप्रित बुमराह, जयदेव उनादकट र मुर्गन आश्विनले एक/एक विकेट लिए ।यो जितसँगै पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । कविहीन मुम्बई भने पुछारमा छ ।